६ जेष्ठ २०८१, आईतवार

सबैको ध्यान सुदूरपश्चिम प्रदेशसभा बैठकमा

sudur paschim pradesh sabha

सुदूरपश्चिम प्रदेशसभाको बैठक सुरु भएको छ । मुख्यमन्त्री राजेन्द्र सिंह रावलले प्रदेशसभाबाट विश्वासको मत लिनुपर्ने अन्तिम दिन बिहीबार बसेको प्रदेशसभाको बैठकले सबैको ध्यान तानेको छ ।

एमालेका नेता रावललाई मुख्यमन्त्री बनाउँदा नेकपा माओवादी केन्द्र, नागरिक उन्मुक्ति पार्टी र राप्रपाको समर्थन थियो । तर, विश्वासको मत दिन नागरिक उन्मुक्तिले रेशम चौधरीसहित टीकापुर घटनामा संलग्न भएको आरोपमा जेल परेकाको रिहाइ, चलाइएको मुद्दा फिर्ता लिनुपर्ने माग राख्दै आएको थियो ।

नागरिक उन्मुक्तिको समर्थनबिना मुख्यमन्त्री रावललाई विश्वासको मत प्राप्त गर्न सम्भव छैन । ५३ सदस्यीय सुदूरपश्चिम प्रदेशसभामा कांग्रेसका १९ सांसद छन् । यस्तै माओवादीका ११, एमालेका १०, नागरिक उन्मुक्तिका ७, एकीकृत समाजवादीका ५ र राप्रपाका १ सांसद छन् ।

प्रदेशमा भोट हाल्नु पर्ने नाउपाका सात सांसद काठमाडौंमै

नागरिक उन्मुक्ति पार्टी (नाउपा) अनिर्णत बन्दा सुदूरपश्चिम प्रदेश सरकार अफ्ठ्यारोमा परेको छ ।

मुख्यमन्त्री राजेन्द्रसिंह रावलले विश्वासको मत लिने अन्तिम दिन आजसम्म नाउपाले मत दिने वा नदिने निर्णय गर्न सकेको छैन ।

मुख्यमन्त्री रावलले विश्वासको मत लिन नसकेमा उनी पदमुक्त हुनेछन् । तर विश्वासको मत दिने नाउपाका ७ सांसद नै केन्द्रीय राजधानी काठमाडौंमा छन् ।

नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठ चौधरीले सामाजिक सञ्जालमा सुदूरपश्चिमका ७ सांसदको तस्बिर राख्दै आफूहरूको माग पूरा नभएसम्म सरकारलाई विश्वासको मत नदिने अडान कायम रहेको बताएकी छन् ।

डिल्लीबजार कारागारमा उनीहरूसहित अध्यक्ष रञ्जिता श्रेष्ठ र पार्टीका सरंक्षक रेशम चौधरीबीच छलफल भएपनि निर्णय गर्न सकेका छैनन् ।

उनीहरूले प्रधानमन्त्री पुष्पकमल दाहाल र एमाले अध्यक्ष केपी शर्मा ओलीसँग बैठक बसेपछि मात्रै निर्णय गर्ने बताएका छन् ।

पार्टीका संघीय सांसद लालवीर चौधरीले दुई नेतासँगको बैठकपछि मात्रै विश्वासको मत दिने÷नदिने निर्णय हुने बताए । उनले प्रदेशका सातै जना सांसद काठमाडौंमा रहेको पनि जानकारी दिए ।

मुख्यमन्त्री रावलले विश्वासको मत नपाए प्रदेश सभाको ठूलो दल कांग्रेसले सरकार बनाउने बाटो खुल्ने छ ।

    सम्बन्धित समाचार...