६ जेष्ठ २०८१, आईतवार

अझै नियन्त्रणमा लिन सकेन सरकारले सांसद लक्ष्मी महतो कोइरीलाई

Lakshmi Koiri

ट्याक्टरमा आगो लगाएको आरोपमा ६ महिना कैद सजाय तोकिएका सांसद अरुणकुमार चौधरीलाई पक्राउ गरेको प्रहरीले गम्भीर प्रकृतिको आरोप लागेका अर्का सांसद लक्ष्मी महतो कोइरीलाई भने नियन्त्रणमा लिन सकेको छैन ।

मधेस आन्दोलनका क्रममा २०७२ साल भदौ २५ गते महोत्तरीमा सशस्त्र प्रहरी बलका सहायक निरीक्षक थमन विकको हत्यामा संलग्न भएको अभियोगमा अदालतले थुनामा राख्न आदेश दिएको भए पनि कोइरी अहिलेसम्म पक्राउ परेका छैनन् । मंसिर ४ गतेको प्रतिनिधिसभा निर्वाचनमा वारेसनामाबाट उम्मेदवारी दिएका कोइरी महोत्तरी १ बाट निर्वाचित भएका थिए । पुस २६ गते संसदमै उपस्थित भएर प्रधानमन्त्रीलाई विश्वासको मत दिएका कोइरी त्यसयता फरार छन् ।

प्रहरीले कोइरीको खोजीका लागि विशेष टोली बनाएको छ । विकको हत्यामा महतोको संलग्नता रहेको अभियोगपत्रमा उल्लेख छ । जिल्ला सरकारी वकिलको कार्यालयले तयार पारेको अभियोगपत्रमा विकको हत्यामा महतोको प्रत्यक्ष संलग्नता देखिएको छ। सोही घटनाको आरोपमा पक्राउ परेका सञ्जय साहले विकलाई एम्बुलेन्सबाट थुतेर कुटपिटमा संलग्न २० जना मध्ये महतो पनि भएको बयान दिएका छन् । त्यस्तै अर्का अभियुक्त प्रदीप साहले पनि कोइरी घटनास्थलमै रहेको बयान दिएका छन् । घाइते भएर उपचारका लागि एम्बुलेन्समा ल्याउने क्रममा सानोखाडीस्थित धानबारीमा घेरा हालेर आक्रमण गरिएको र एम्बुलेन्समा आगजनी गरेर विकलाई थुतेर करिब साढे ११ बजे हत्या गरेको भन्दै दिएको बयानमा कोइरीको प्रत्यक्ष संलग्न देखिएको हो ।

घटनामा संलग्न भनिएका २८ जनाविरुद्ध अभियोग लगाइएको भए पनि तीन जना मात्रै कारागारमा छन् । मुद्दाको पूर्ण सुनुवाइ भएको छैन । पक्राउ परेकाको बयान र अनुसन्धान प्रतिवेदनकै आधारमा कोइरीलाई उच्च अदालत जनकपुरले पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको थियो । तर उनी अहिलेसम्म पक्राउ परेका छैनन् ।

    सम्बन्धित समाचार...