१९ बैशाख २०८१, बुधबार

‘महाअभियान’ चलाइएको छ रवि लामिछानेलाई गृहमन्त्री बनाउन : भीम रावल

Bhim Rawal

सत्तारुढ नेकपाएमालेका नेता एवं पूर्वउपप्रधानमन्त्री भीमबहादुर रावलले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई फेरि गृहमन्त्री बनाउन ‘महाअभियान’ चलाइएको भन्दै असन्तुष्टि जनाएका छन् ।

काठमाडौंमा शनिबार एक कार्यक्रममा उनले मन्त्रालय भागबन्डामा असन्तुष्टि राख्दै नागरिकाताको विषय सफाइ दिन लामिछानेलाई फेरि गृहमन्त्रीको जिम्मेवारी दिन लागिएको आरोप लगाए । उनले भने, ‘आज मन्त्रीहरू हेरौं त । जसको वैदेशिक रोजगार कम्पनी छ, उसलाई श्रममन्त्री । जसको निजी स्कुल एकदम महँगो छ, ऊ शिक्षामन्त्री । जसलाई नागरिकताजस्तो अत्यन्त संवेदनशील राष्ट्रियतासँग सम्बन्धित छ । निजलाई खोजीखोजी त्यही नागरिकता स्वच्छ बनाउन गृह मन्त्रालय । अहिले गृह मन्त्रालय भनेपछि त्यही चाहिन्छ भन्ने महाअभियान ।’

नेता रावलले कठोर संघर्ष र धेरै मानिसले रगत बगाए ल्याएको व्यवस्थामा फरार प्रतिवादी सांसद बनेको प्रसंग निकाले । उनले अगाडि भने, ‘हामीले बहुदलीय व्यवस्था ल्यायौं । गणतन्त्र ल्यायौं । तर अहिले हामी समाचार पढछौं–फलानो मान्छे त ज्यान मुद्दामा पो लागेको रहेछ । फरार छ । प्रहरीले गिरफ्तार गर्नुपर्ने गृह मन्त्रालयले त विज्ञप्ति जारी गरेर मैले भनेको प्रहरीले मानेन भन्छ । अहिले पक्राउ परेर धनगढी गयो भनेर पनि हामी पढ्छौं ।’

सरकारसँग यस्ता बेथित र हिजोको समस्याहरूको हल गर्दे जानुपर्ने अवस्थाको विकल्प नरहेको उनको भनाइ छ ।