१४ बैशाख २०८१, शुक्रबार

कुनैपनि हालतमा रास्वपालाई गृहमन्त्रालय नदिने प्रचण्डको अडान कायमै, के गर्लान रवि ?

rabi and prachanda 1200x560 1
फाइल फोटो

प्रधानमन्त्री पुष्पकमल दाहाल अहिलेको सत्ता गठबनधन भत्काउनेगरि अघि बढेका छन् । राष्ट्रिय स्वतन्त्र पार्टीले गृहमन्त्रालयमा दाबी गरेपछि उत्पन्न राजनीतिक परिस्थितिको मध्येजर गर्दै प्रधानमन्त्री दाहालले कांग्रेस सभापति शेरबहादुर देउवा, नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाल र जसपा अध्यक्ष उपेन्द्र यादवसँग सहकार्यको लागि हात अघि बढाएका छन् ।

रास्वपाले गृहमन्त्रालयमा दाबी राख्दै दिएको दुई दिनको अल्टिमेटम पनि आज सकिँदैछ । आज राजनीतिक संयन्त्रको बैठक बोलाउने चर्चा थियो । तर, प्रधानमन्त्री दाहालले भने संयन्त्रको बैठकमा सहभागी नहुने संकेत गरेका छन् । विहान बालुवाटारमा एमाले अध्यक्ष केपी शर्मा ओलीसँग भेटवार्ता गरेका दाहाल त्यसपछि विभिन्न कार्यक्रममा सहभागी भएर सिधै पार्टीको स्थायी कमिटी बैठकमा सहभागी भएका छन् ।

माओवादीको स्थायी कमिटी बैठक यो समाचार तयार पार्दासम्म जारी नै छ । प्रधानमन्त्री दाहाल गृहमन्त्रालय रास्वपालाई कुनैपनि हालतमा नदिनेगरि अघि बढेको बालुवाटारनिकट स्रोतको दाबी छ । विहान बालुवाटारमा भएको ओलीसँगको भेटवार्तामा पनि गृहमन्त्रालय रास्वपालाई नदिने अडान लिएका थिए । बालुवाटारको भेटवार्ताबाट बाहिरिएका ओलीले आजै साँझ आफू संयोजक रहेको उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक बोलाउन चाहेका थिए । तर, प्रधानमन्त्री दाहाल भने संयन्त्रको बैठकको पक्षमा छैनन् ।

उनी आज/भोलि नै गठबन्धनलाई लत्याएर नयाँ गठबन्धन बनाउनेतर्फ अग्रसर देखिएका छन् । माओवादीको आजको स्थायी कमिटी बैठकबाट नै गृहमन्त्रालयको नेतृत्व कसलाई सुम्पिने भन्नेबारे निर्णय हुनसक्ने एक नेताको दाबी छ । रास्वपामा यतिवेला सरकार छाड्ने वा नछाड्ने भन्नेमा दुई धार देखिएको छ । पार्टीभित्रै लामिछाने अल्पमतमा पर्ने देखेर उनी सरकारबाट बाहिरिने निर्णयमा पुग्न नसकेको पनि चर्चा छ ।

तर, यो बीचमा उनले एमाले अध्यक्ष ओलीमार्फत प्रधानमन्त्री दाहालसमक्ष गृहमन्त्रीमा आफ्नो दाबीको लागि दबाब बढाएका थिए । अहिले एमालेले पनि लामिछानेलाई नै गृहमन्त्री बनाउने अडान छोडेको छ । तर, उसले सहमतिअनुसार गृहमन्त्रालय रास्वपाले पाउनुपर्ने अडान भने कायमै रहेको छ। गृहमन्त्रालय कुनैपनि हालतमा रास्वपालाई नदिने प्रचण्ड स्पष्ट भएपनि अब के गर्ने भन्नेबारे रवि लामिछाने भने अझै अस्पष्ट छन् ।