७ बैशाख २०८१, शुक्रबार

कुन राजनीतिक दल कस्ता माधव नेपालको नजरमा ?

madhav nepal 1

नेकपा (एकीकृत समाजवादी) को केन्द्रीय कमिटी बैठक आजदेखि सुरु भएको छ । बैठकमा पार्टी अध्यक्ष माधव कुमार नेपालले २५ पृष्ठ लामो राजनीतिक प्रतिवेदन पेश गरेका छन् । उनले पेश गरेको प्रतिवेदनमा नेपाली कांग्रेस, एमालेलगायत विभिन्न ११ वटा राजनीतिक दलको चरित्रको बारेमा उल्लेख गरेका छन् ।

नेपाली कांग्रेस

अहिले प्रतिनिधि सभाको सबैभन्दा ठूलो दलका रूपमा रहेको नेपाली कांग्रेस पुँजीपति वर्ग चरित्रको पार्टी हो । नवउदारवादको पक्षपोषण गर्ने यस पार्टीले दलाल पुँजीपति वर्गकोसमेत हित प्रतिनिधित्व गर्दछ । तथापि यो पार्टी संविधान र लोकतन्त्रको रक्षाप्रति प्रतिबद्ध रहेको पाइन्छ ।

एमाले

प्रतिनिधि सभाको दोस्रो ठूलो दलका रूपमा रहेको नेकपा (एमाले) दक्षिणपन्थी अवसरवादी चरित्रको कम्युनिष्ट पार्टी हो । यसको वर्ग अडान स्पष्ट छैन । दलाल पूँजीपति वर्गसँगको लसपसले गर्दा यसको नेतृत्व तीब्र गतिमा दक्षिणपन्थी हुँदै गएको छ । यो पार्टी संविधान र लोकतन्त्रप्रति प्रतिबद्ध छैन । विगतको व्यवहारलाई हेर्दा यसले आफ्नो स्वार्थका निम्ति संविधान र लोकतन्त्रलाई मास्न पनि बेर लाउँदैन भन्ने देखिन्छ ।

माओवादी केन्द्र

प्रतिनिधि सभाको तेस्रो ठूलो दलका रूपमा रहेको नेकपा (माओवादी केन्द्र) ढुलमुले चरित्रको कम्युनिष्ट पार्टी हो । यसको पनि वर्ग अडान स्पष्ट छैन । सशस्त्र द्वन्द्वबाट शान्ति प्रक्रियामा आएको यो पार्टी शान्ति प्रक्रिया लम्बिदै गएपछि सत्ताको वरिपरि केन्द्रित हुँदै गएको छ । यो पार्टी संविधान र लोकतन्त्रप्रति प्रतिबद्ध नै छ तर सत्तास्वार्थका निम्ति कुनै पनि बेला जुनसुकै कदम चाल्न सक्ने अस्थिर र ढुलमुले प्रवृत्ति यसमा देखिएको छ ।

रास्वपा

प्रतिनिधि सभाको चौथो स्थानमा रहेको राष्ट्रिय स्वतन्त्र पार्टी पँुजीपति वर्ग चरित्रको पार्टी हो । यस पार्टीको दर्शन, सिद्धान्त, विचार र कार्यदिशा केही पनि स्पष्ट छैन । संविधानवादको कुरा गरेपनि गणतन्त्र र संघीयताप्रति यसको दृष्टिकोण के हो भन्ने पनि स्पष्ट छैन । यो पार्टी प्रतिनिधि सभाको विघटन र नेकपाको विभाजनले उत्पन्न गरेको राजनीतिक अन्योल र सामाजिक निराशाको परिस्थितिमा सस्तो लोप्रिय नारा दिएर उदाएको पार्टी हो । सस्तो लोप्रियतावादले सर्वसाधारण जनतामा भ्रम दिएर प्रतिकृयावादको सेवा गर्ने गर्दछ । यसले पनि त्यही भूमिका निर्वाह गर्दैछ ।

राप्रपा

प्रतिनिधि सभाको पाँचौ स्थानमा रहेको राष्ट्रिय प्रजातन्त्र पार्टी सामन्ती तथा दलाल नोकरशाही पँुजीपति वर्ग चरित्रको पार्टी हो । यो पार्टी समाजमा अवशेषको रुपमा रहेको सामन्ती पछौटे एवं लम्पट चिन्तनको प्रतिनिधि हो । यो संविधान, गणतन्त्र र संघीयता विरोधी पार्टी हो । यसले जनताको क्रान्तिकारी आन्दोलनले उखेलेर फ्याँकेको सामन्ती राजतन्त्रलाई पुनःस्थापना गर्न चाहन्छ ।

जसपा

प्रतिनिधि सभाको छैँठौँ स्थानमा रहेको जनता समाजवादी पार्टी प्रजातान्त्रिक साजवादी सिद्धान्त आँगालेको पार्टी हो । मुख्यतः मधेश प्रदेशमा प्रभाव राख्ने यो पार्टी मधेशको मध्यम वर्गीय तप्काको प्रतिनिधि हो । यो संविधान, गणतन्त्र र संघीयताप्रति प्रतिवद्ध रहेको छ ।

जनमत पार्टी

प्रतिनिधि सभाको आठौँ स्थानमा रहेको जनमत पार्टी विगतमा मधेशलाई नेपाली उपनिवेशबाट मुक्त गरी स्वतन्त्र राज्य बनाउनु पर्दछ भन्ने पृथकतावादी सोंच आँगालेको पार्टी हो तर अहिले संविधान मान्ने र त्यस अन्तर्गत रहेर राजनीति गर्ने गरी अगाडि बढेको छ । यो पार्टी गणतन्त्र र संघीयताप्रति प्रतिवद्ध रहेको छ ।

लोसपा

प्रतिनिधि सभाको नवौँ स्थानमा रहेको लोकतान्त्रिक समाजवादी पार्टी बुर्जुवा चरित्रको पार्टी हो । मुख्य गरी मधेश प्रदेशमा केन्द्रित रहेको र मधेसका मुद्दामा नै बढी चासो राख्ने यो पार्टी पनि मधेशको मध्यम वर्गीय तप्काको प्रतिनिधि हो । यो गणतन्त्र र संघीयताप्रति प्रतिवद्ध रहेको छ ।

नाउपा

संसदको दशौँस्थानमा रहेको नागरिक उन्मुक्ति पार्टी जातीय पहिचान र अधिकारमा जोड दिने पार्टी हो । यो पार्टी थारु जातिको पहिचान र अधिकारलाई मुख्य विषय बनाएर सब्गठित एवं क्रियाशील छ । यसको वर्ग चरित्र स्पष्ट छैन ।

नेमकिपा

प्रतिनिधि सभाको एघारौँ स्थानमा रहेको नेपाल मजदुर किसान पार्टी जडसूत्रवादी एवं अत्यन्त संकीर्ण चरित्रको कम्युनिष्ट पार्टी हो । यो पार्टी मूलतः श्रमजीवी वर्गको पक्षमा उभिन्छ तर नेतृत्वमा रहेको निम्नमध्यम वर्गीय जडता र सब्कीर्णताले गर्दा निरन्तर खुम्चिदै गएको छ । भक्तपुर जिल्लामा सीमित यो पार्टी संविधान र गणतन्त्रप्रति प्रतिबद्ध नै छ ।

राजमो

प्रतिनिधि सभाको बाह्रौँस्थानमा रहेको राष्ट्रिय जनमोर्चा नेकपा (मसाल) को खुला राजनीतिक संगठन हो । यो संविधान र गणतन्त्रप्रति प्रतिबद्ध तर संघीयताको विरोधी पार्टी हो ।

एकीकृत समाजवादी

नेपाली श्रमजीवी वर्गको सच्चा प्रतिनिधिका रूपमा रहेको हाम्रो पार्टी प्रतिनिधि सभाको सातौँ स्थानमा छ । यो पार्टी वर्तमान संविधान, गणतन्त्र र सब्घीयताप्रति प्रतिवद्ध रहदै समाजवादी कार्यदिशा अँगालेर अगाडि बढिरहेको छ । हामीले आजभन्दा करिव १६ महिना पहिले तत्कालीन नेकपा (एमाले) मा व्याप्त दक्षिणपन्थी अवसरवाद एवं विसर्जनवाद, व्यक्तिवादी अहब्कारवाद, निरब्कुश एवं स्वेच्छाचारी प्रवृत्ति र चरम गुटबन्दीका साथै संविधानमाथिको आक्रमण र जनक्रान्तिका उपलब्धीमाथि धावा बोल्ने प्रतिगमनकारी कदमका विरुद्ध विद्रोह गरेर पार्टी पुनर्गठन अभियान सुरु गरेका थियौँ । त्यो अभियान अहिले पनि जारी छ । आजको राजनीतिमा सैद्धान्तिक रुपले हामी नै नेकपाका सच्चा प्रतिनिधि हौँ तर एमालेबाट विद्रोह गरी आएको हुनाले त्यसका कैयन विसंगतिहरु हामीसँग पनि आएका छन्। हामीले ती विसंगतिहरुबाट आफुलाई मुक्त गरेर अगाडि बढ्नुपर्दछ ।