१४ बैशाख २०८१, शुक्रबार

ओलीको निरंकुशतावादले एमालेमा अझ ठूलो पहिरो जाँदैछ : अध्यक्ष नेपाल

Madhav Nepal

एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले एमालेमा झन ठूलो पहिरो जान लागेको बताएका छन् ।

शनिबारदेखि सुरु केन्द्रीय कमिटी बैठकलाई सम्बोधन गर्दै उनले अध्यक्ष केपी शर्मा ओलीको निरंकुशतावाद कारण एमालेमा अझ ठूलो पहिरो जान लागेको दाबी गरेका हुन् ।

‘एमालेमा झन् ठूलो पहिरो जाँदै छ । धेरै नेताहरू हाम्रो संवादमा हुनुहुन्छ । ओलीको निरंकुशतावादका कारण अझ ठूलो पहिरो जान्छ एमालेमा । हामी उहाँहरूलाई स्वागत गर्न चाहन्छौँ ।’ अध्यक्ष नेपालले भने ।

उनले एमालेमा रहँदा आफूहरुले गरेको विद्रोह सही भएको जिकिर गरेका छन् । उक्त विद्रोह अहिले पछिल्लो घटनाक्रमले पुष्टि गरेको उनको भनाइ थियो ।

उनले मंसिर ४ मा सम्पन्न निर्वाचनमा पार्टीले थ्रेसहोल्ड कटाउन नसकेको र त्यसका कारणहरु पहिचान गरेर समयमा हिसाबकिताब गरिने बताए ।

‘हाम्रै नेताहरूका कारण थ्रेसहोल्ड कटाउन सकेनौँ । एक नेताले तीन मत पनि माग्न सकेनौँ । जसको कारण हामी निर्वाचनमा खुम्च्यिौँ,’ उनले भने, ‘केन्द्रीय सदस्यले नै भोट नहाल्न भनेको प्रमाण हामीकहाँ छ । समयमा हिसाबकिताब हुन्छ ।’