५ जेष्ठ २०८१, शनिबार

चितवनका किसानले सडकमा तरकारी फाल्दै भने,–बारीमा जाँउ भविष्य छैन,खाडीमा जाउँ उमेर छैन

kishan

चितवनको नारायणगढ बजारको व्यस्त सडक पुल्चोकमा किसानले तरकारी बोकेर आन्दोलनमा सहभागि भएका छन् । भारतीय तरकारीले नेपाली बजार कब्जा गरेको र नेपाली तरकारीले बजार नपाएको भन्दै किसानहरु आन्दोलनमा सहभागि भएका हुन । बारीमा उत्पादन गरिएका तरकारी सडकमा प्रदर्शन गर्दै किसानले नारावाजी गरेका थिए ।

टमाटर, काउली, बन्दालगायतका तरकारी बोकेका गाडीसहित नारायणगढ पुगेका किसानहरूले पूर्व पश्चिम राजमार्ग बन्द गरेर प्रदर्शन गरेका छन् । स्थानीय उत्पादन प्रयाप्त भएको समयमा भारतबाट तरकारी आयात बढाएर किसान विस्थापीत गराउन खोजेको आरोप उनिहरुले लगाएकाछन् ।

उनीहरुले प्रतिकिलो पाँच रुपैयाँमा पनि तरकारी बिक्री नभएपछि चितवनका किसानहरु आन्दोलित भएका हुन् । अहिले उत्पादित कुनै पनि तरकारीले बजार नपाएकाले बाध्य भएर सडकमा तरकारी फालेर विरोध गर्नु परेको खैरहनीका किसान पुरन महतोले बताए ।

उनका अनुसार टमाटर, बन्दा, गाँजर, केराउलगायत तरकारी पाँच रुपैयाँ पनि बिक्री हुन सकेको छैन । त्यसैको विरोधमा आज ६ वटा ट्याक्टरमा ल्याइएको तरकारी सडकमा फालिएको उनले बताए ।

यस्तै, स्थानीयले उत्पादन गरेको तरकारी विक्री नहुने तर भारतीय तरकारीले बजार कव्जा गर्दै जान थालेपछि वाध्य भएर आन्दोलन गर्नुपरेको किसान लेखनाथ भुषालेले बताए । देशमा उत्पादन भएको तरकारीले बजार नपाएपछि आयात रोकिदिनका लागि सरकारी निकायमा सहयोग माग्दा बेवास्ता गरिएको बताउदै उनले वाध्य भएर सडकमा आउनुपरेको जानकारी दिए ।

सरकारले नेपाली किसानको समस्या समाधानलाई पहल नगरेको गुनासो किसानहरुको रहेको छ । देशमै केही गरौं भनेर कृषिमा लगानी गरेका युवाहरूलाई सरकारले निराश बनाएको आन्दोलनमा सहभागिहरुले बताएकाछन् । बारीमा जाँउ भविष्य छैन,खाडीमा जाउँ उमेर छैन भन्ने नारा सहितको प्लेकार्ड बोकेर उनीहरु आन्दोलनमा सहभागि भएकाछन् ।

1

    सम्बन्धित समाचार...