२२ बैशाख २०८१, शनिबार

राष्ट्रपतिका लागि सर्वस्वीकार्य व्यक्ति कांग्रेसमा मात्रै छ : कार्की

Gynandra karki
फाइल फोटो

नेपाली कांग्रेसका नेता एवं पूर्वसञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले राष्ट्रपतिका लागि सर्वस्वीकार्य व्यक्ति आफ्नो पार्टीमा मात्रै रहेको दाबी गरेका छन् ।

नेता कार्कीले राष्ट्रपतिमा आफ्नो पार्टीलाई स्वीकार्य बनाउन कांग्रेसले प्रधानमन्त्री पुष्पकमल दाहाललाई विश्वासको मत दिएको तर्कसमेत गरे । सुनसरीस्थित हरिनगर गाउँपालिकाको प्रशासनिक भवन उद्घाटन कार्यक्रममा उनले एमाले अध्यक्ष केपी ओलीले राष्ट्रपतिमा आफ्नो पार्टीको उम्मेदवारमा राष्ट्रिय सहमति हुन्छ भनेर बालहठ देखाएको जिकिर गरे ।

उनले ओलीको बालहठले मुलुकलाई अघि बढाउन नसक्ने दाबी पनि गरे । ‘राष्ट्रपति मैले खडा गरेको व्यक्तिलाई मात्रै भोट दियो भने राष्ट्रिय सहमति हुन्छ भन्नु त्यो बालहठ हो । र, त्यो बालहठले मुलुक अगाडि बढ्न सक्दैन । यो सम्मानित संस्थाको नेतृत्व सर्वस्वीकार्य व्यक्तिले गर्नुपर्नेछ,’ उनले भने ।

उनले कांग्रेसमा सर्वस्वीकार्य व्यक्ति रहेको जिकिर पनि गरे । साथै सत्ताका लागि आफ्नो पार्टीले मरिहत्ते नगर्ने पनि उनको दाबी छ । ‘त्यो व्यक्तित्व नेपाली कांग्रेसभित्र नै छ भन्ने कुरा पनि म यहाँहरुलाई निवेदन गर्न चाहन्छु । त्यही कारणले हामीले प्रतिनिधिसभाको बैठकमा वर्तमान प्रधानमन्त्री पुष्पकमल दाहालले विश्वासको मत माग्दै गर्दा हामीले विश्वासको मत दिएका हौं,’ उनले भने, ‘म यहाँबाट भन्न चाहन्छु- नेपाली कांग्रेस पार्टी नेपालको राजनीतिको केन्द्रविन्दुमा छ । नेपाली कांग्रेस पार्टीले सत्ता खोजेर हिँडनु पर्दैन । नेपाली काँग्रेस पार्टीको अगाडि सत्ता आउनुपर्दछ, आउँछ ।’

    सम्बन्धित समाचार...