२२ बैशाख २०८१, शनिबार

ठूलो चुनौतीमा उभिएर अर्थतन्त्र उकास्ने अठोट गरेको छु : प्रधानमन्त्री प्रचण्ड

328955426 1339051556915389 4255959110053678293 n.jpg

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले शिक्षामा सुधार गरेरमात्र समृद्धि र सुशासनको जग बसाल्न सकिने बताएका छन् ।

शुक्रबार सिन्धुपाल्चोकको जुगल गाउँपालिका( ५, चनौटेस्थित रत्नराज्य माध्यमिक विद्यालयको नवनिर्मित भवनको उद्घाटन गर्दै प्रधानमन्त्री प्रचण्डले यस्तो बताएका हुन् ।उनले नेपालको अर्थतन्त्रमा केही गम्भीर समस्या रहेकाले आफूले तेस्रो कार्यकालको जिम्मेवारी सम्हालेको बताए ।

‘मन्त्रिपरिषदको पहिलो बैठकबाटै अर्थतन्त्रमा सुधार गर्ने अठोट लिएको छु निजी क्षेत्र र सरकारको सहकार्यमा अर्थतन्त्र उकास्ने अठोट गरेको छु । बैंक र व्यवसायीबीच सहकार्यको स्थिति सिर्जना भएको छ । अर्थतन्त्रमा सुधार आउने आधारहरू देखिएका छन् । अर्थतन्त्रले क्रमशः विकासको गति लिनेछ’, उनले भने ।

उनले प्रतिनिधिसभाबाट विश्वासको मत लिँदा केही असाधारण परिस्थिति देखिएकाले निकै ठूलो जिम्मेवारी र चुनौती रहेको बताए । विकास, सुशासन र समृद्धिको चुनौती एक्लै पूरा गर्न नसकिने प्रधानमन्त्री प्रचण्डको भनाइ छ ।

प्रधानमन्त्री प्रचण्डले भने, ‘शिक्षा क्षेत्रमा ठीक ढंगले लगानी गरेरमात्र विकास र समृद्धिको जग बसाल्न सकिन्छ । समतामूलक समाज निर्माणको आधार शिक्षा नै हो । शिक्षाको गुणस्तरले मात्र सुशासन, सभ्यता, संस्कृति र विकासको आधार तयार पार्दछ । तसर्थ शिक्षा नै महत्वपूर्ण क्षेत्र हो ।’

उक्त भवन जनवादी गणतन्त्र चीनको सहयोगमा निर्माण भएको हो । उनले भने, ‘जुगल गाउँपालिकाका आदरणीय जनसमुदायका लागि यो खुशी र गौरवको कुरा हो । यो विद्यालय निर्माणका निम्ति मेरो पनि केही न केही भूमिका छ । म नेपाल सरकार एवं मेरोतर्फबाट चीन सरकार र चिनियाँ जनतालाई हार्दिक धन्यवाद ज्ञापन गर्दछु ।’

विनाशकारी भूकम्पपछिको पुनर्निर्माणमा चीन सरकारले विद्यालयका साथै अन्य धेरै क्षेत्रमा सहयोग गरेको उल्लेख गर्दै प्रधानमन्त्री प्रचण्डले भौतिक पूर्वाधार र शिक्षा तथा स्वास्थ्यमा पनि महत्वपूर्ण भूमिका खेलेको बताए ।

नेपाली जनताको समृद्धि र सुशासनको आकांक्षामा चीन सरकारको निरन्तर सहयोग रहने अपेक्षा गरेको उनको भनाइ छ ।

उनले भने, ‘सिन्धुपाल्चोकका जनताका पीडामा सहभागी हुने अवसर मिल्दै आएको छ । दुःख र सुखमा म तपाईंहरूको साथसाथै छु । जुरेको पहिरो, भूकम्पको पुनर्निर्माण, मेलम्चीको विनाशलगायतका सबै पीडामा म तपाईंहरू सँगसँगै छु । म तपाईंहरूसँग ऐक्यवद्ध भएर काम गर्न पाउँदा खुशी महसुस गरेको छु । आगामी दिनमा पनि सिन्धुपाल्चोकको विकासका निम्ति म तपाईंहरूकै साथमा हुनेछु ।’

    सम्बन्धित समाचार...