२४ बैशाख २०८१, सोमबार

भनाभन सत्तापक्षभित्रै : सरकार बनेको दुई महिनामै अन्तर्विरोध सुरु

SattaGathabandan
फाइल फोटो

सरकार बनेको दुई महिना नबित्दै सत्तारुढ दलभित्र अन्तर्विरोध सुरु भएको छ ।

रवि लामिछानेको असन्तुष्टि सतहमा आइसकेको छ । यससँगै नेकपा एमाले र माओवादीका नेताहरूबीच मतभेद बढेको छ । मधेस केन्द्रित दलहरू सरकार गठनको प्रक्रियामा असन्तुष्ट छन् भने संसद् बैठकमै सत्तापक्षका सांसदबीच भनाभन छ । बढ्दो मतभेदले पुष्पकमल दाहाल नेतृत्वको सरकार नै अल्पमतमा पर्ने हो कि भन्ने प्रश्न उब्जाएको छ ।

रवि लामिछाने प्रकरणले प्रधानमन्त्री पुष्पकमल दाहाल र एमाले अध्यक्ष केपी शर्मा ओलीबीचमासमेत मतभेद बढाएको छ । नेकपा एमाले र माओवादीका नेताहरूको अर्को प्रमुख मतभेद राष्ट्रपति कसलाई बनाउने भन्नेमा छ । पुस १० गते बालकोटमा सहमति भइसकेको भन्दै एमालेले आफ्नो दलबाट राष्ट्रपति तय हुनुपर्ने अडान राखेको छ । तर, माओवादीले चाहिँ राष्ट्रिय सहमतिका आधारमा राष्ट्रपति तय हुनुपर्ने सर्त राखेको छ ।

एमाले र माओवादीको अर्को मतभेद पूर्व प्रधानन्यायाधीश चोलेन्द्रसमशेर जबराविरुद्ध परेको महाअभियोगको प्रस्तावलाई अघि बढाउने कि नबढाउने भन्ने मासमेत परेको छ । रवि लामिछाने प्रकरण, राष्ट्रपतिको उम्मेदवार, चोलेन्द्र प्रकरणलगायतका राजनीतिक विषयले एमाले र माओवादीबीच दुरी बढाएको हो ।

त्यसो त मधेस केन्द्रित दलहरू जनता समाजवादी, नागरिक उन्मुक्ति र जनमत पार्टीलाई पनि प्रधानमन्त्री दाहालले विश्वासमा ल्याउन सकेका छैनन् । प्रतिनिधिसभाबाट १६९ सांसदको समर्थन जुटाएर प्रधानमन्त्री बनेका दाहालसँग राष्ट्रिय स्वतन्त्र पार्टीको १९, जनता समाजवादीको १२, जनमत पार्टीको ६ र नागरिक उन्मुक्ति पार्टीको ४ सिटसमेत गरी ४१ सांसदको विश्वास जोगाइराख्नुपर्ने चुनौती बढेको छ ।