२४ बैशाख २०८१, सोमबार

भोलि नेपाल र मलेसियाबीच दुई पक्षीय बैठक बस्दै

nepal malasia

मलेसियाका गृहमन्त्रीको सहभागितामा भोलि नेपाल र मलेसियाबीच दुई पक्षीय बैठक बस्दै छ । उक्त बैठकमा नेपाली पक्षले चार वर्षअघि भएको श्रम सम्झौताको कार्यान्वयन, मलेसियामा रहेका नेपाली श्रमिकलाई समान ज्याला र सुरक्षाका विषय उठाउने भएको छ । त्यस्तै नयाँ श्रमिक भर्ना प्रक्रियामा पूर्ण रूपमा शून्य लागतको अभ्यास लागू गर्ने प्रस्ताव पनि राख्ने भएको छ ।

सन २०१८ को अक्टोबरमा नेपाल र मलेसियाबीच श्रम सम्झौता भए पनि सो सम्झौतामा उल्लेख भएका विषय कार्यान्वयन नभएकोमा नेपाली पक्षले मलेसियाका गृहमन्त्रीको ध्यानाकर्षण गराउँदै छ । त्यसबाहेक मलेसियामा नेपाली कामदारको सुरक्षा, मलेसियामा कानुनी हैसियत प्राप्त गर्न नसकेका श्रमिकलाई आममाफी तथा जेलमा रहेका चौध नेपालीलाई रिहाइ गर्ने लगायत विषय उठाउने तयारी सरकारी अधिकारीहरूको छ ।

यता आप्रवासनका विज्ञहरूले चार वर्षअघि भएको श्रम सम्झौताको प्रभावकारी कार्यान्वयन गर्न र सबै नेपाली श्रमिकलाई सामाजिक सुरक्षामा आबद्ध गर्ने विषयमा कुरा उठाउन माग गरेका छन् ।

मलेसिया सरकारले कोरोना महामारीपछि औद्योगिक तथा कृषि क्षेत्रमा पाँच लाख विदेशी श्रमिक लिने बताएको छ । यही अवस्थामा शून्य लागतमा कोटा बढाउने गरी लबिङ गर्न पनि वैदेशिक रोजगार व्यवसायीले सरकारसँग माग गरेका छन् ।

श्रम सम्झौताको कार्यान्वयन, मलेसियामा रहेका नेपाली श्रमिकलाई समान ज्याला र सुरक्षाका विषय उठाइने

मलेसिया नेपालीको प्रमुख श्रम गन्तव्य मुलुक हो । अहिले करिब चार लाख नेपाली श्रमिक मलेसियामा छन् । मलेसियाले सबैभन्दा बढी सुरक्षा गार्ड लिने गरेको छ । ठूलो संख्यामा नेपाली श्रमिक लैजाने गरे पनि न्यून पारिश्रमिक रहेकाले त्यसमा पनि पुनर्विचार गर्नुपर्ने आवाज उठिरहेको छ ।

नेपालसँग मिल्दोजुल्दो हावापानी र अदक्ष श्रमिकलाई पनि काम दिन सकेका कारण वैदेशिक रोजगारीका लागि मलेसिया मुख्य गन्तव्य बनेको हो ।

    सम्बन्धित समाचार...