२४ बैशाख २०८१, सोमबार

तत्काल सरकारबाट नबाहिरिने रास्वपा, गृहमन्त्रीका लागि दुई दिन पर्खिने

Rabi Lamichhane

रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीले सरकारबाट बाहिरिनका लागि गरेको तयारी दुई दिनका लागि स्थगन गरेको छ ।

आज बैठक बस्नै लागेका बेला प्रधानमन्त्री पुष्पकमल दाहाल र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले रवि लामिछानेलाई टेलिफोन गरेपछि रास्वपाले दुई दिनसम्म पर्खेर हेर्ने नीति लिएको हो ।

गृहमन्त्री दिन प्रधानमन्त्री दाहाल तयार नदेखिएपछि बसुन्धरास्थित केन्द्रीय कार्यालयमा विहीबार दिनभर राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय समिति बैठक बसेको थियो । बैठक बस्नै लाग्दा दाहाल र ओलीले फोन गरेर लामिछानेलाई सरकारबाट समर्थन फिर्ता नलिन आग्रह गरेका थिए ।

‘३९ जना केन्द्रीय सदस्य र सांसदहरुमध्ये बैठक सहभागी सबैले आ–आफ्नो भनाइ राख्दा रास्वपाको बैठक रातिसम्म लम्बिएको थियो । बैठकपछि पार्टी प्रवक्ता मुकुल ढकालले पत्रकारसँग भने, ‘बैठक बस्नु अगाडि पार्टी सभापतिलाई प्रधानमन्त्री पुष्पकमल दाहालको फोन आयो । राजनीतिक संयन्त्रका संयोजक केपी शर्मा ओलीको पनि फोन आयो ।’

प्रधानमन्त्री दाहालले दुई दिन समय मागेको ढकालले बताए । ओलीले पनि राजनीतिक संयन्त्रको बैठक बसौं, अहिले नै सरकार छाड्ने निर्णय नगर्नोस् भनेर फोन गरेको हुनाले दुई दिनसम्म कुनै निर्णयमा नपुगिएको ढकालको भनाइ छ ।

समग्र परिस्थितिलाई ध्यान दिँदै र देशको स्थिरताको पक्षलाई पनि ध्यान दिएर आज कुनै निर्णयमा नपुगिएको प्रवक्ता ढकालको भनाइ छ । उनले भने, ‘दुबैजनाले एउटै सन्देश पठाउनुभएको छ । दुई दिनको समय माग्नुभएको कारणले गर्दाखेरि आज संयुक्त बैठकले उच्चस्तरीय संयन्त्रको बैठक पनि बस्ने र प्रधानमन्त्रीले मागेको दुई दिनको समयलाई ध्यान दिएर दुई दिनपछि फेरि बस्ने र आवश्यक पर्यो भने निर्णय लिने र छलफललाई जारी राख्ने निर्णय गरेका छौं ।’

पार्टी सभापति लामिछानेलाई गृहमन्त्री नबनाइए राष्ट्रिय स्वतन्त्र पार्टीले सरकारबाट बाहिरिने चेतावनी दिएको थियो । आजै बालुवाटारमा भएको पछिल्लो भेटमा पनि लामिछानेलाई गृहमन्त्री बनाउन प्रधानमन्त्री दाहालले नमानेपछि असन्तुष्ट हुँदै लामिछानेले दिउँसो केन्द्रीय कमिटीको बैठक बोलाएका थिए ।

दाहाल नेतृत्वको सरकारमा रास्वपाका तर्फबाट शिक्षामन्त्री शिशिर खनाल, श्रममन्त्री डीपी अर्याल र स्वास्थ्य राज्यमन्त्री डा. तोसिमा कार्की सहभागी छन् । उपप्रधानमन्त्री तथा गृहमन्त्री रहेका रवि लामिछाने भने सर्वोच्च अदालतको फैसलापछि पदमुक्त भएका छन् ।

जिल्ला प्रशासन कार्यालयबाट नागरिकता पुनः प्राप्त गरेपछि लामिछानेले प्रधानमन्त्री र एमाले अध्यक्ष केपी शर्मा ओलीलाई भेटेर आफूलाई पुनः गृहमन्त्री बनाउनुपर्ने माग पटक पटक राखिसकेका छन् ।

एमाले अध्यक्ष केपी ओलीले लामिछानेलाई गृहमन्त्री बनाउनुपर्ने भन्दै प्रधानमन्त्रीलाई दबाब दिएका छन् । बिहीबार विराटनगर पुगेका ओलीले रविलाई गृहमन्त्री बनाउनुपर्ने सार्वजनिक प्रतिक्रिया दिएका थिए ।

तर, प्रधानमन्त्री दाहालले भने रविको पासपोर्टसम्बन्धी मुद्दा प्रहरीको अनुसन्धानमै रहेको र सर्वोच्च अदालतबाट फैसलाको पूर्ण पाठ आउन बाँकी रहेको भन्दै फैसलाको पूर्णपाठ नआएसम्म गृह मन्त्रालयले आफैंमा राख्ने बताउँदै आएका छन् ।

    सम्बन्धित समाचार...