२४ बैशाख २०८१, सोमबार

रास्वपाले रविलाई गृहमन्त्री बनाउँदा अरुलाई केको टाउको दुखाइ ?

oli kp
फाइल फोटो

नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रिय स्वतन्त्र पार्टीबाटै गृहमन्त्री हुने बताएका छन् ।

बिहीबार विराटनगर पुगेका अध्यक्ष ओलीले पत्रकारसँगको कुराकानीमा पूर्वसहमति अनुसार रास्वपाले नै गृहमन्त्री पाउने बताएका हुन् । उनले अहिले कुनैपनि कारणले सरकार संकटमा नपर्ने उल्लेख गरे ।

माओवादी अध्यक्ष पुष्पकमल दाहाद प्रचण्ड नेतृत्वको सरकार गठनका बेला भएको सहमतिअनुसार रास्वपाका सभापति रवि लामिछाने उपप्रधान तथा गृहमन्त्री बनेका थिए । तर, उनको नेपाली नागरिकता प्रमाणपत्र अवैध ठहर भएपछि सांसदसहित उपप्रधान तथा गृहमन्त्रीबाट पदमुक्त भए । त्यसयता गृहमन्त्रालयको जिम्मेवारी प्रधानमन्त्री प्रचण्ड आफैंले लिएका छन् । 

गत आइतबार पुरानै नेपाली नागरिकता प्रमाणपत्रलाई ब्युँताएका लामिछानेले पुनः आफूलाई गृहमन्त्रीको शपथ खुवाउन प्रधानमन्त्री प्रचण्डमाथि दबाब सृजना गरिरहेका बेला अध्यक्ष ओलीको उक्त धारणा सार्वजनिक भएको हो । यद्यपि, उनले लामिछानेलाई गृहमन्त्रीमा शपथ गराउन प्रधानमन्त्रीसँग आग्रह पनि गरेका थिए । ओली र लामिछाने दुवैको आग्रहलाई प्रधानमन्त्री प्रचण्डले बेवास्ता गर्दै आएका छन् । 

यही पेरिफेरिमा विराटनगरमा सञ्चारकर्मीसँग कुरा गर्दै एमाले अध्यक्ष ओलीले रास्वपाबाटै गृहमन्त्री हुने बताएका हुन् । 

रास्वपाले जसलाई त्यसलाई गृहमन्त्री बनाउनै पर्ने बताउँदै अध्यक्ष ओलीले भने,‘रास्वपाले कसलाई गृहमन्त्रीमा पठाउँछ त्यो त्यही पार्टीको कुरा हो । रास्वपाले रविलाई नै गृहमन्त्रीमा पठाउँछ भने अरुलाई केको टाउको दुखाइ ? ’

रास्वपाले गृहमन्त्रीमा लामिछानेलाई पठाएमा अरुले आपत्ति जनाउनुपर्ने आवश्यकता नरहेको बताएका ओलीले भावी राष्ट्रपति एमालेबाटै हुने दाबी गरे । 

कांग्रेसले सत्ताको लागि चलखेल गरिरहेको आशंका व्यक्त गर्दै ओलीले कांग्रेसमा राजनीतिक संस्कार नभएको आरोप लगाए ।

    सम्बन्धित समाचार...