६ जेष्ठ २०८१, आईतवार

कालीगण्डकीको शिला अयोध्यामा हस्तान्तरण गरियो

Kaligandaki Shila Ayodya

अयोध्यास्थित राम जन्मभूमिमा रामको मूर्ति निर्माणका लागि नेपालको कालीगण्डकी नदीबाट ल्याइएको शिला मन्दिर निर्माण ट्र्रस्टलाई हस्तान्तरण गरिएको छ ।

बिहीहार अयोध्यामा एक समारोहबीच जनकपुर जानकी मन्दिरका महन्थ राम तपेश्वर दासले उक्त शिला राम जन्मभूमि मन्दिर निर्माण ट्रस्टका महासचिव चम्पत रायलाई हस्तान्तरण गरेका हुन् । समारोहमा विधिवत पूजा पाठ र मन्त्रोचारण गरिएको छ ।

शिला हस्तान्तरण समारोहमा पूर्व उपप्रधान तथा गृहमन्त्री विमलेन्द्र निधिसहित नेपालबाट आएका सयौं मानिसहरूको सहभागिता थियो।

रामको जन्मस्थल भारतको अयोध्यामा भव्य राम मन्दिरको निर्माण भइरहेको छ । मन्दिरमा राखिने रामको मूर्ति निर्माणका लागि कालिगण्डकी नदीबाट शिला (ठूलो पत्थर) ल्याइएको छ । शालिग्राम पत्थर पाइने भएकाले कालीगण्डकी नदीको शिलाको छनौट गरिएको हो । म्याग्दीको कालीगण्डकी नदीबाट शिला उत्खनन्‌देखि त्यसलाई अयोध्या पुर्‍याउने क्रममा बाटामा हजारौं नरनारीले शिलालाई रामको स्वरुप मानेर पूजाआजा गरेका छन् । अयोध्यासम्मै सयौँ मानिसहरु नेपालबाट आएका छन् ।

लामो समयको विवादपछि अयोध्यामा राममन्दिरको निर्माण भइरहेको छ । राम जन्मभूमिस्थल विवादित थियो । मुस्लिम समूदायको बाबरी मस्जिद र हिन्दुको मन्दिरलाई लिएर वर्षौं विवाद कायम थियो । एउटै जमिनलाई हिन्दुहरुले रामजन्म भूमि र मुस्लिमले आफ्नो पवित्र मस्जिदको स्थान भन्दै आएका थिए । भारतको सर्वोच्च अदालतले ९ नोभेम्बर २०१९ मा राम जन्मभूमिको पक्षमा फैसला सुनाएपछि मन्दिरको निर्माण हुँदैछ ।

निर्माणाधीन राममन्दिरलाई कुनै न कुनै रुपमा जनकपुरसँग जोड्नुपर्ने प्रयासमा कांग्रेस नेता विमलेन्द्र निधि पछिल्लो डेढ वर्षदेखि प्रयासरत छन् । मन्दिर परिसरमा केही न केही चिनो राख्नुपर्ने प्रयत्न गरिरहेका बेला मूर्तिको निर्माण नै नेपालबाट ल्याइएको शिलाबाट हुने छ । ७ फिट लम्बाई, ५ फिट चौडाई र ३.५ फिट मोटाईका २ थान शिला म्याग्दीबाट दुईवटा लहरीमा ल्याइएको हो ।

१८ सय करोडको लागतमा भारत सरकारले राम मन्दिरको निर्माण गर्दैछ । मन्दिर निर्माणसँगै अयोध्याको चौतर्फी विकासका विभिन्न परियोजनाहरु पनि एकैसाथ सञ्चालित छन् । सडक फरकिलो गर्ने, विमानस्थलको निर्माण, रेल्वे स्टेसनको आधुनिकीकरण लगायतका ५० बढी परियोजनामा काम भइरहेको छ ।

Kaligandaki Shila Ayodya 1

    सम्बन्धित समाचार...