२२ बैशाख २०८१, शनिबार

प्रधानमन्त्रीलाई एकीकृत समाजवादीको ज्ञापनपत्र: अत्यधिक मूल्य वृद्धिले बाँच्नै मुस्किल भयो

Samajbadi Gyapan

नेकपा एकीकृत समाजवादीले देशको आर्थिक अवस्थाबारे सरकारको ध्यानाकर्षण गराउँदै प्रधानमन्त्री पुष्पकमल दाहाललाई ज्ञापनपत्र बुझाएको छ ।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार पुगेर एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल नेतृत्वको प्रतिनिधिमण्डलले अर्थ सुधारका निम्ति तत्काल कदम चाल्न २० बुँदे सुझावसहितको ज्ञापनपत्र बुझाएको हो ।

मुलुकमा राजस्वले नियमित खर्च धान्न नसक्ने अवस्था सिर्जना भएको, बैंक ब्याज चर्को हुँदा ऋण लिएर कारोबार गर्ने अधिकांश साना र मझौला व्यवसायी धराशायी हुने अवस्थामा पुगेको, ठूला व्यवसायीहरु पनि गम्भीर संकटतर्फ उन्मुख भएकोलगायतका विषय उल्लेख गर्दै एकीकृत समाजवादीले देशको अर्थतन्त्र सुधारका लागि तत्काल अल्पकालीन उपाय अवलम्बन गर्नुका साथै दीर्घकालीन उपायहरु अपनाउन सुझाव दिएको छ ।

‘देशमा गरिखाने वातावरण नभएका कारणले युवाहरुको विदेश पलायन तीव्र भइरहेको छ,’ प्रधानमन्त्रीलाई बुझाइएको ज्ञापनपत्रमा भनिएको छ, ‘दैनिक उपभोग्य सामानको मूल्यमा अत्यधिक वृद्धि हुनुका कारणले आम जनजीवन कष्टकर भएको छ । न्यून आयसमूहका श्रमिक वर्गका मानिस बाँच्नै मुस्किल भएको छ ।’

जनजीवनमा व्यापक असन्तुष्टि सिर्जना भएको र आम जनतामा निराशा व्याप्त हुनाका साथै राजनीति र राजनीतिक संस्थाहरुप्रति नै आम जनतामा एकखाले वितृष्णा सिर्जना हुँदै गइरहेको ज्ञापनपत्रमा उल्लेख छ ।

    सम्बन्धित समाचार...