१९ बैशाख २०८१, बुधबार

नेपालमा हुने साइबर आक्रमणलाई निरुत्साहित पार्न अमेरिकाले सहयोग गर्ने

Usminister

अमेरिकाले नेपालमा हुने साइबर आक्रमणलाई निरुत्साहित पार्न सहयोग गर्ने भएको छ ।

नेपालको दुईदिने भ्रमणमा आएकी अमेरिकी राजनीतिक मामिलासम्बन्धी उपमन्त्री भिक्टोरिया नुल्यान्डले साइबर आक्रमणको सामना गर्दै आएको सिंहदरबारको सर्भर मजबुत बनाउन अमेरिकाले सहयोग गर्ने जानकारी दिइन् ।

बलियो व्यवस्थापकीय र साइबर सुरक्षात्मक प्रबन्ध नहुँदा राष्ट्रिय सूचना प्रविधि केन्द्रअन्तर्गतको एकीकृत डाटा सेन्टरका तथ्यांक बारम्बार पाइरेसी तथा ह्याकिङको जोखिममा पर्ने गरेका छन् ।

यसबाट सेवाग्राहीसमेत मारमा पर्दै आएको अवस्थामा अमेरिकाले सरकारी सर्भरलाई मजबुत बनाउन सहयोग गर्ने भएको हो । शनिबार पनि साइबर आक्रमणको आशंकामा एकीकृत डाटा सेन्टरको सर्भर तीन घण्टा डाउन गर्दा अधिकांश सरकारी काम-कारबाही प्रभावित भएका थिए ।

सोमबार आयोजित पत्रकार सम्मेलनमा उपमन्त्री नुल्यान्डले नेपालले छिमेकी मुलुकसँग सहकार्य गर्दा आफ्नो सार्वभौमसत्ता रक्षा गर्ने विषयमा पनि ध्यान दिन सुझाव दिइन् । अमेरिकाले नेपाल र नेपालका छिमेकीसँग स्थिर सम्बन्धको विकास र सुदृढीकरणका लागि काम गरिरहेको उनको भनाइ छ । नुल्यान्डले मिलेनियम च्यालेन्ज कर्पोरेसन-एमसीसीको कार्यान्वयनमार्फत नेपाललाई आर्थिक सहयोग गर्ने प्रतिबद्धता जनाइन् । ‘मिलेनियम च्यालेन्ज कर्पोरेसन-एमसीसीको कार्यान्वयनमार्फत सहयोग हुन्छ,’ उनले भने ।

नेपालको नयाँ सरकारले आर्थिक विकासमा जोड दिनुपर्ने उनले उल्लेख गरिन् । उनले आजै प्रधानमन्त्री एवं माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल, कांग्रेस सभापति शेरबहादुर देउवा, एमाले अध्यक्ष केपी शर्मा ओली तथा परराष्ट्रमन्त्री विमला राई पौड्यालसँग भेटवार्ता गरेकी थिइन् । उनले पाटन दरबार क्षेत्रको समेत भ्रमण गरेकी थिइन् ।

    सम्बन्धित समाचार...