१९ बैशाख २०८१, बुधबार

प्रम दाहाल र मेयर शाहबीच भेटवार्ता

prachand balen

प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) र काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहबीच भेटवार्ता भएको छ । सोमबार विहान प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार पुगेर मेयर शाहले प्रधानमन्त्री प्रचण्डसँग भेटवार्ता गरेका हुन् ।

काठमाडौं महानगरभित्रका सुकुम्बासी बस्ती हटाउन सरकारको साथ माग्न उनी प्रधानमन्त्री प्रचण्डलाई भेट्न पुगेको बुझिएको छ ।

अनधिकृत रुपमा निर्माण गरिएको भन्दै निजी संरचनामा डोजर अभियान चलाएसँगै पछिल्लो समय मेयर शाह आलोचित बन्दै आएका छन् ।

उनको कार्यशैलीलाई लिएर पछिल्लो समय काठमाडौं नगरबासी संगठित रुपमै उनीविरुद्ध प्रदर्शनमा उत्रिन थालेका छन् । आइतबार मात्रै मेयर शाहविरुद्ध काठमाडौंमा प्रदर्शन भएको थियो ।

निजी सम्पत्तिमा डोजर चलाएर नगरबासीलाई आतंकित बनाएको, संविधान र कानुनले दिएको अधिकारसमेत हनन गरेको, सम्पदा मास्न खाजेको, भत्काइएका संरचनाहरु अलपत्र अवस्थामै छाडेको लगायतका आरोप लगाउँदै उनीविरुद्ध नगरबासी आन्दोलनमा उत्रिएका छन् ।

निर्वाचनको १० महिना बित्न नपाउँदै मेयर शाहविरुद्ध नगरबासी विरोधमा उत्रिन थालेका हुन् ।

आफूले अघि बढाएका कामहरु रोकिन थालेपछि मेयर शाहले यसअघि गृहमन्त्रीलाई समेत भेट गरेका थिए । उनले आफूलाई सहयोग गर्न सरकारलाई आग्रह गर्दै आएका छन् ।

    सम्बन्धित समाचार...