२५ बैशाख २०८१, मंगलवार

रास्वपाको सभापतिमा पुन: लामिछाने

Rastriya Swatantra Party

रवि लामिछाने पुनः राष्ट्रिय स्वतन्त्र पार्टीको सभापति बनेका छन् ।

पार्टी कार्यालयमा आइतबार बसेको केन्द्रीय समिति बैठकले लामिछानेलाई सर्वसम्मत पुनः सभापतिको जिम्मेवारी दिएको हो ।

नागरिकतासम्बन्धी विवादमा सर्वोच्च अदालतले सांसद पद खारेज गरेपछि पार्टीको सभापति पदसमेत गुमाएका रवि लामिछानेले आइतबार मात्रै नागरिकता पुनः कायम गरेका थिए । नागरिकता पुन: कायम भएसँगै आइतबारै लामिछानेलाई पार्टीले सभापतिको जिम्मेवारी दिएको हो ।

अस्ति (शुक्रबार) सर्वोच्चको संवैधानिक इजलासले लामिछानेको सांसद पद खारेज गर्ने निर्णय गरेको थियो । उनी चितवन २ बाट निर्वाचित भएका थिए ।

लामिछानेले आइतबार नागरिकता ऐनको दफा ११ बमोजिम पुन: नागरिकता कायम गराएका छन् ।

उनको पुरानै नागरिकता कायम भएको जिल्ला प्रशासनल कार्यालय काठमाडौंले जनाएको छ । नेपाल नागरिकता ऐन २०६३ को दफा ११ मा पुन: नेपाली नागरिकता कायम हुने व्यवस्थामा भनिएको छ, ‘कुनै नेपाली नागरिकले विदेशी मुलुकको नागरिकता प्राप्त गरेपछि पुन: नेपालमा आई बसोबास गरेको र विदेशी मुलुकको नागरिकता त्यागेको निस्सा तोकिएको अधिकारीलाई दिएमा त्यस्तो निस्सा दर्ता भएको मितिदेखि निजको नेपाली नागरिकता पुन: कायम हुनेछ ।’

अमेरिकी नागरिकता त्यागेपछि नेपाली नागरिकता पुनः प्राप्तिको प्रक्रियामा नगई पुरानै नागरिकता प्रयोग गरेपछि लामिछानेविरुद्ध सर्वोच्चमा मुद्दा परेको थियो । उक्त मुद्दामा सर्वोच्च अदालतको संवैधानिक इजलासले लामिछानेको सांसद पद खारेज गरिदिएको थियो ।

गृह मन्त्रालय स्वतः हाम्रो हो : प्रवक्ता ढकाल

राष्ट्रिय स्वतन्त्र पार्टीले गृह मन्त्रालयमा दाबी नछाड्ने भएको छ ।

काठमाडौंमा आइतबार बसेको केन्द्रीय समितिको बैठकको निर्णयबारे जानकारी दिँदै पार्टीका प्रवक्ता डा. मुकुल ढकालले गृह मन्त्रालय आफूहरूको भागका परेकाले यसबारे सत्ता गठबन्धन रहेका अन्य दलले चासो देखाउन आवश्यक नरहेको बताए ।

उनले भने, ‘अहिलेको समस्या हाम्रो पार्टीको हो अन्य दलको होइन । अन्य दलले समस्याका रुपमा लिन जरुरी छैन । गृह मन्त्रालय राष्ट्रिय स्वतन्त्र पार्टीले पाएको हो । यसबारे निर्णय गर्ने अधिकार हाम्रो पार्टीलाई छ ।’

गृह मन्त्रालयको समस्या गठबन्धनसँग खटपटको विषय नभएकाले स्वतः उक्त पद आफूहरूले पाउनुपर्ने उनको तर्क छ ।

आजको बैठकले सभापतिमा रवि लामिछानेलाई पुनः सर्वसम्मत चयन गरेको छ । अब पार्टीबाट गृहमन्त्री को बन्ने निर्णय पनि उनैले गर्नेछन् । सभापति लामिछानेले अन्य दलका प्रमुखसँग छलफल गरी छिटै निर्णयमा पुग्ने प्रवक्ता ढकालले बताए ।

साथै लामिछानेको सभापतित्वमा बसेको केन्द्रिय कार्य समिति बैठकले पार्टीको सबै प्रदेशमा संगठन विस्तार गर्ने कार्यतालिका आगामी माघ २१ गतेबाट पुनः सुचालु गर्ने निर्णय पनि गरेको छ । लामिछानेले पार्टीको सभापति पद गुमाएपछि स्थगित गरिएको सबै प्रदेशको संगठन विस्तार सम्बन्धि कार्यतालिका पुनः सुचालु गराउने निर्णय पनि गरिएको प्रवक्ता बताए ।

    सम्बन्धित समाचार...