२१ बैशाख २०८१, शुक्रबार

अन्तिम सुनुवाइ सकियो रवि लामिछानेविरुद्धको नागरिकता मुद्दामा

rabi lamichanne

उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेको मुद्दाको सुनुवाइ सकिएको छ । लामिछानेविरुद्धको नागरिकता मुद्दामा सर्वोच्च अदालतमा सुनुवाइ सकिएको हो ।

सर्वोच्चमा मुद्दाको पक्षमा बहस गर्ने कानुन व्यवसायीहरुले लामिछानेले नेपाली नागरिकता पुन:प्राप्तिको प्रक्रिया नै पूरा नगरेको तर्क गरेका छन् । यस्तै मुद्दाको विपक्षमा रहेका कानुन व्यवसायीहरुले अमेरिकी नागरिकता त्यागेपछि लामिछाने स्वत: नेपाली नागरिक भएको जिकिर गरेका छन् ।

अस्ति (माघ ११ गते बुधबार) हेर्दा हेर्दैको सूचीमा परेको मुद्दाको सुनुवाइ आज भएको हो । कायममुकायम प्रधानन्यायाधीश हरिकृष्ण कार्की तथा न्यायाधीशहरु विश्वम्भरप्रसाद श्रेष्ठ, ईश्वरप्रसाद खतिवडा, आनन्दमोहन भट्टराई र अनिलकुमार सिन्हा सम्मलित संवैधानिक इजलासमा अस्ति (बुधबार) मुद्दाको सुनुवाइ सकिएको थिएन । आज शुक्रबार अन्तिम सुनुवाइ सकिएको हो ।

लामिछानेले अमेरिकी नागरिकता त्यागेपछि नेपाली नागरिकता लिने प्रक्रिया पूरा नगरेको भन्दै उनको सांसद पद खारेजीको माग दाबीसहित सर्वोच्चमा रिट परेको थियो ।

लामिछानेले अमेरिकी नागरिकता लिँदा नेपालको कायम रहेको वा नरहेको तथा नेपाल फर्केपछि यहाँको नागरिकता लिने प्रक्रिया पूरा गरे/नगरेको विवाद सर्वोच्चको संवैधानिक इजलास पुगेको हो ।

मुद्दा अदालतमा कायमै रहेका बेला लामिछाने पुस ११ मा उपप्रधान तथा गृहमन्त्री भएका थिए । सर्वोच्चले लामिछानेले नागरिकता लिने प्रक्रिया पूरा नगरेको ठहर गरेमा उनको मन्त्री र सांसद पद खारेज हुन सक्ने देखिन्छ । विदेशी नागरिकता त्यागेपछि स्वतः नेपाली नागरिकता कायम हुने व्याख्या भएमा त्यो नयाँ नजिर हुनसक्छ ।

    सम्बन्धित समाचार...