२१ बैशाख २०८१, शुक्रबार

प्रहरीमा तरंग गृह मन्त्रालयको अनौठो विज्ञप्तिले, न्यूनतम सर्तसमेत गृहबाट उल्लङ्घन

Home ministry nepal

फरार आरोपी पक्राउ गर्ने विषय प्रहरीले कहिल्यै सार्वजनिक गर्दैन । तर गृह मन्त्रालयले त्यसको ठीक उल्टो गरेको छ । हत्या अभियोगका फरार आरोपीलाई पक्राउ नगरेको भन्दै गृह मन्त्रालयले नै प्रहरीविरुद्ध विज्ञप्ति नै जारी गरेर सार्वजनिक आक्षेप लगाएको छ ।

सांसदका रुपमा निर्वाचित भइसकेका व्यक्तिलाई नियन्त्रणमा लिने कानुनी प्रक्रिया र प्रहरीलाई दिएको निर्देशन गोप्य राख्नुपर्ने न्युनतम् सर्तसमेत गृह मन्त्रालयबाट उल्लंघन भएको छ ।

शुक्रबार साँझ ८ बजेपछि गृह मन्त्रालयबाट एउटा अनौठो विज्ञप्ति आयो । मन्त्रालयको विज्ञप्तिमा कुनै सार्वजनिक सरोकार राख्ने विषयको सूचना थिएन । त्यसमा त मातहतका प्रहरीमाथि नै गम्भीर आरोप लगाइएको थियो । उच्च अदालतले पूर्पक्षका लागि थुनामा राख्न आदेश दिएका अभियुक्त पक्राउ गर्न गृहमन्त्रीले दिएको मौखिक आदेश प्रहरीले नमानेको भन्दै तालुक गृह मन्त्रालयले सार्वजनिकरुपमै आफू मातहतकै निकायप्रति अविश्वास गरेको यो सम्भवत: पहिलोपटक हो ।

कानुनी प्रक्रिया र प्रहरीलाई दिएको निर्देशन गोप्य राख्नुपर्ने न्यूनतम सर्तसमेत गृह मन्त्रालयबाट उल्लङ्घन

प्रहरीले मन्त्रीको निर्देशन नमानेको भन्दै मन्त्रालयले निकालेको विज्ञप्तिका आरोपी हुन् प्रतिनिधिसभाका सांसद लक्ष्मी महतो कोइरी । जो पुस २६ गते गृहमन्त्री रवि लामिछानेसँगै प्रधानमन्त्रीलाई विश्वासको मत दिने गठवन्धनकै एक सांसदका रुपमा उभिएका थिए । प्रधानमन्त्रीको सपथदेखि विश्वासको मत दिँदासम्म गृहमन्त्रीसँगै देखिएका कोइरी पक्राउ गर्न दिइएको आदेश पालना नभएको भन्दै विज्ञप्ति नै जारी गर्नुपर्ने अवस्था किन आयो ? गृहमन्त्रीतिरै यो प्रश्न सोझिएको छ ।

सांसद कोइरी प्रकरणको विज्ञप्तिले गृहमन्त्रीले आफू मातहतका सुरक्षा संगठनमाथि विश्वास नगरेको हो भन्ने गम्भीर प्रश्न उठेको छ । त्यसो त प्रहरी स्रोतका अनुसार कोइरीलाई पक्राउ गर्न प्रधानमन्त्रीले विश्वासको मत लिएकै दिन सादा पोशाकमा प्रहरी खटिएका थिए । त्यसका लागि संसदमा गृहमन्त्रीले समन्वय गरिदिउन् भन्ने चाहना प्रहरीको थियो । तर त्यसका गृहमन्त्री लामिछानेले सहयोग नगरेको गुनासो प्रहरीको छ ।

महतोविरुद्ध आन्दोलनका क्रममा एम्बुलेन्सबाट थुतेर सशस्त्र प्रहरी बलका जवानको हत्या गरेको अभियोग

कोइरीलाई पक्राउ गर्न गृहमन्त्रीले प्रधानमन्त्री पुष्पकमल दाहाल र एमाले अध्यक्ष केपी ओलीसँगसमेत कहिल्यै सहयोग नमागेको दाबी गृह स्रोतको छ । त्यति मात्र होइन, प्रहरी महानिरीक्षकसँगै परामर्श र समन्वय छोडेर सार्वजनिक विज्ञप्ति निकाल्नुनै गलत भएको बुझाइ पूर्वप्रहरी अधिकारीहरुको छ ।

सांसद महतोविरुद्ध २०७२ साल भदौ २५ गते तराई आन्दोलनका क्रममा एम्बुलेन्सबाट थुतेर सशस्त्र प्रहरी बलका जवानको हत्या गरेको अभियोग छ । महतोलाई जिल्ला अदालत महोत्तरीले १ लाख धरौटीमा रिहा गरेको थियो । तर उच्च अदालतले त्यसलाई उल्टाएर थुनामै राख्न भनेको छ ।

अपराधमा संलग्न आरोपी पक्राउ पर्नुपर्छ, त्यसमा दुईमत छैन । तर, गृहमन्त्री र मन्त्रालयले माहतका निकायसँग समन्वय गर्नुभन्दा वक्तव्यवाजी गर्नुले सुरक्षाको गोपनीयता जोखिममा परेको छ ।

के गृहमन्त्रीलाई प्रहरी प्रशासनले टेर्न छाडेको हो ?

नेपाली कांग्रसका सांसद रामहरि खतिवडाले देशको गृहमन्त्रीलाई प्रहरी प्रशासनले टेर्न छाडेको हो भन्दै प्रश्न उठाएका छन् ।

प्रतिनिधिसभाको शनिबार बसेको बैठकको सुरुवातमा समय माग्दै सांसद खतिवडाले प्रहरीको फरार सूचीमा रहेका एमाले सांसद लक्ष्मी महतो कोइरीलाई पक्राउ गर्न गृहमन्त्रालयले विज्ञप्ति जारी गरेकोमा आपत्ति जनाएका हुन् ।

देशको इतिहासमा अपराधीलाई खोज्दै जाँदा प्रेस विज्ञप्ति निकालेर खोज्न जाने परम्पराको सुरुवात भएको उल्लेख गर्दै सांसद खतिवडाले भने, ‘परराष्ट्र, रक्षा र गृहमन्त्रालयमा प्रेस विज्ञप्ति निकालेर अपराधीलाई खोज्न जाने परिपाटीको विकास भयो भने मुलुक कहाँ जाने हो ? बढो चिन्ताको विषय बनेको छ ।’

गृहमन्त्री रवि लामिछानेको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै उनले गृहमन्त्रीबाट केटाकेटीपनको प्रदर्शन भएको टिप्पणी गरे । ‘गृहमन्त्रीले केटाकेटीपनको प्रदर्शन गर्नु भएन,’ उनले प्रश्न गरे, ‘के देशको गृहमन्त्रीलाई प्रहरी प्रशासनले टेर्न छोडेको हो ? मौखिक रुपमा सूचना दिँदा कोही अपराधीलाई पक्राउ नगर्ने परम्पराको सिर्जना भएको हो ? के अझै पनि जनतालाई डाँट्नका लागि यो सूचना प्रकाशित गरिएको हो ?’

यसअघिको संसद बैठकमा पनि यस विषयमा आफूले ध्यानाकर्षण गराउँदा गृहमन्त्रीले हतकडी लिएर नहिँड्ने जवाफ दिएको प्रति पनि सांसद खतिवडाले आपत्ति जनाए । ‘…के मान्य सदस्यहरुले अपराधीलाई चिनाइँदिने हो ? के गृहमन्त्रीलाई यो सदन भित्र हतकडी लिएर आउनुहोस् भनेका छौँ हामीले ?’ उनले भने, ‘अपराधीलाई पक्राउ गर्नुहोस् भन्दा प्रेस विज्ञप्ति निकाल्ने परम्परा गलत हो । यो पत्र जनतालाई अर्को नाटकको रुपमा प्रदर्शन गरिँदै छ । यसमा हाम्रो घोर आपत्ति छ ।’

उनले जनता र संसदलाई मुर्ख बनाउने काम नगरियोस् भन्दै सभामुखलाई रुलिङ गर्न माग गरे । ‘हामी रुलिङ चाहन्छौँ, जनतालाई मुर्ख बनाउने काम नगरियोस् । संसदलाई मुर्ख बनाउने काम नगरियोस् । अपराध अनुसन्धान आचारसंहिता विरुद्ध पत्राचार गर्ने, मिडियोमा हौवाका भरमा प्रस्तुत गर्ने काम मन्त्रीहरुले सस्तो लोकप्रियता नखोजुन् भन्ने चाहन्छौँ ।’ उनले भने ।

गृहमन्त्रीको पनि पारा देखियो !

सांसद चित्रबहादुर केसी प्रतिनिधिसभाका माइला सांसद हुन् । ज्येष्ठ सदस्य पशुपतिसमशेर जबरा भन्दा केही महिनामात्रै कान्छा रहेका असी कटेका सांसद् केसीले बिहीबार प्रतिनिधिसभामा बोल्ने क्रममा गृहमन्त्री रवि लामिछानेकोसमेत कडा आलोचना गरे ।

‘सरकार बन्नुभन्दा पहिला ठूला–ठूला कुरा गरेका साथीहरू सरकार बनेपछि कस–कसको कस्तो–कस्तो रेकर्ड आएको छ ? हेर्नोस् त’ राष्ट्रिय जनमोर्चाका अध्यक्षसमेत रहेका केसीले संसद्‌मा भने, ‘गृहमन्त्रीको के छ रेकर्ड ? सहरिया मन्त्री (विक्रम पाण्डे) को के छ रेकर्ड ? विभिन्न मन्त्रीहरूको हेर्नोस् त रेकर्ड के छ ? कसरी आइराखेको छ ?’

केसीले थपे, ‘सर्वसाधारणका अगाडि पनि पञ्चायतका विरुद्धमा लडेका, गणतन्त्रका पक्षमा लडेका यी जम्मै नालायक भइसके, अब नयाँ मान्छे आउनुपर्छ भनेर हल्ला भइराखेको थियो मुलुकभरि । नयाँ आउनेबित्तिकै नयाँको त देखिहालियो तस्बिर ।’

संसद्मा हलो काट्न जंगल गएका सात भाइको कथा सुनाउँदै केसीले गरेको सम्बोधनको सम्पादित अंश यस्तो जस्ताको त्यस्तै :

हलो काट्न भनेर सात भाइ बन्चरो बोकेर वन गए । ढिक (डिल) मा रुख रहेछ । के विचार गरेछन् भने यो रुख ढलेर तल गयो भने काठ सप्पै काम लाग्दैन । त्यसो हुनाले दुई भाइले कम्मरमा बाँधेर रुख उँभो तान्ने । पाँच भाइले चाहिँ फेद काट्ने । त्यसो गरेपछि रुख तल जाँदैन र हलो सग्लासग्ली बनाउन र बाँड्न पाइन्छ ।

पाँच भाइले फेदमा गएर गिँड्न थालेछन् । दुई भाइले कम्मरमा बाँधेर त्यत्रो रुख उँभो तान्नलाई बसेछन् ।

रुख त गइगो । झड्याम्म झर्‍यो तल । पाँच भाइचाहिँ गइहाले रुख छिमल्न । अनि माथि बसेका दुई भाइ पनि राम्रो हलो त यिनीहरूले पो रोज्ने भए भनेर उनीहरु पनि तल गएछन् ।

त्यस्तै भयो अहिले । प्रधानमन्त्रीको चुनावमा देखिएको यो नाटक त्यही हलो काट्न गएका सात भाइको हविगत मैले देखेँ । सरकार बन्नुभन्दा पहिला ठूला ठूला कुरा गरेका साथीहरू सरकार बनेपछि कस–कसको कस्तो–कस्तो रेकर्ड आएको छ ? हेर्नोस् त । गृहमन्त्रीको के छ रेकर्ड ? सहरिया मन्त्रीको के छ रेकर्ड ? विभिन्न मन्त्रीहरूको हेर्नोस् त, रेकर्ड के छ ? कसरी आइराखेको छ ? त्यसो हुनाले अहिले मुलुक एकदमै अप्ठ्यारो संकटमा छ ।

सत्ताका लागि सिद्धान्तको कुरा पनि नहुने । इमान जमानको कुरा पनि नहुने । जनतासँग कबुल गरेको कुरा पनि पालन गर्नु नपर्ने । विशुद्ध सत्ता र सत्ताकै लागि जोसँग पनि शरण पर्ने । जोसँग पनि सामेल हुने । त्यसो हुनाले जो अहिलेको लोकतन्त्र छ, गणतन्त्र छ, यो अत्यन्त धरापमा परेको देखिएको छ । यसलाई बचाउन अत्यन्तै गाह्रो छ । यो मौका छोपेर शक्ति केन्द्रहरूले आफूले चाहेको खेल नेपालमा खेल्नेछन् भोलि । कुरा गरौँ भने साथीहरूलाई चित्त फाट्ला । तर, अहिले देखियो । सरकारको जो तस्बिर साथीहरूले यहाँ पेस गर्नुभएको छ, त्यो तस्बिरले के गर्छ भने त्यही हलोको रुख तल झरेपछि हलो रोज्न गएको स्थिति मुलुकको देखिएको छ ।

आजको यो सभामुखको चुनावमा धेरै साथीहरूले धेरै कुरा गर्नुभो । प्रजातन्त्रको पाठ पनि पठाउनुभयो । विगतको सभामुखज्यूको पनि कुरा गर्नुभयो । पहिले भन्दा यसपालिको संसद्को बनावट, संसद्को प्रक्रिया, सरकार बनेको प्रक्रिया, सरकारमा सामेल भएका पार्टीका साथीहरूको विगत र वर्तमानले के देखाउँछ भने हामी झन् झन् अप्ठ्यारो स्थितिमा गएका छौँ ।

यो किन भइराखेको छ भने हामी राणा शासन, पञ्चायतका विरुद्धमा लड्यौँ तर यो उपलब्धिलाई हामीले संस्थागत गर्न सकेनौँ । हामी त अब बेकम्मा भयौँ । सर्वसाधारणका अगाडि पनि पञ्चायतका विरुद्धमा लडेका, गणतन्त्रका पक्षमा लडेका यी जम्मै नालायक भइसके, अब नयाँ मान्छे आउनुपर्छ भनेर हल्ला भइराखेको थियो मुलुकभरि । नयाँ आउनेबित्तिकै नयाँको त देखिहालियो तस्बिर । फेदमा रुख काट्नेको पनि त्यही स्थिति, माथि तान्न बसेकाको पनि त्यही स्थिति ।

राष्ट्रिय जनमोर्चा अहिले पनि प्रतिगमन सच्चिएको छ भन्ने स्थितिमा छैन । कांग्रेसले आफूलाई प्रतिपक्ष भनिराखेको छ । उसले प्रतिपक्ष नै भएर सरकारलाई समर्थन नगरी बस्न किन सकेन ? किन सकेन भने अघि गएकाले हलो त रोज्छन् सोझा सोझा भनेर ऊ पनि सामेल भयो । यो अवस्थामा जे भए पनि जस्तो भएन पनि छातीमा मुड्कीले हानेर ईश्वरी न्यौपानेजीलाई राष्ट्रिय जनमोर्चाले समर्थन गर्छ

    सम्बन्धित समाचार...