२१ बैशाख २०८१, शुक्रबार

विगतका सभामुखले दल फुटाउने भूमिका खेले : श्रेष्ठ

KrishnaGopal Shrestha

नेकपा एमालेका सांसद कृष्णगोपाल श्रेष्ठले सभामुख र उपभसामुखले पदीय मर्यादाबाट विचलित भएर काम गर्न नहुने सुझाएका छन् । उनले विगतका सभामुखबाट दल फुटाउने भूमिका खेलेको आरोप पनि लगाए ।

प्रतिनिधिसभाको शनिबारको बैठकमा उनले विगतमा पदीय मर्यादाबाट विचलित भएर पार्टीगत रुपमा सभामुखहरुले काम गरेको आरोप लगाए । उनले अहिलेका सभामुखले पदीय मर्यादाभन्दा माथि उठेर संसदको काम कारबाहीलाई चुस्त बनाउनुपर्ने भन्दै सुझाव दिए ।

विगतमा सभामुखबाट दल फुटाउने भूमिका खेलेको भन्दै अबको सभामुखबाट कुनै पनि त्यस्तो अपेक्षा नरहेको पनि जनाए । ‘पुराना सभासदको नाम पनि बिर्सिसकेँ । तर फर्केर हेर्दा नेपाल कम्युनिस्ट पार्टी एमालेलाई तत्कालीन स्थितिमा एमालेबाट माले बनाउन अरु कसैले भूमिका खेलेन, सभामुखजस्तो गरिमामय पदबाट त्यो भूमिका खेलियो, सभामुख र उपसभामुख सिंगो हलको रेफ्री हो । दायाँ र बायाँको बीचको आसन हो,’ उनले भने, ‘त्यो आसन दायाँतिर वा बायाँतिर हेरेर बडील्यांग्वेज नदिनुस् । सीधा नजर लगाउनुस् । दुईवटा आँखा दुईतिर लगाउनुस् ।’

उनले सभामुख र उपसभामुखले संसद्‌मा एउटा रेफ्रीको भूमिका निभाई निष्पक्ष र स्वतन्त्र रुपमा सदन सञ्चालन गर्नुपर्ने भन्दै सुझाव दिए । ‘दलीय व्यवस्थामा दल बलियो हुनुपर्छ । तर सभामुखजस्तो गरिमामय पदमा बसेर कसैको दल फुटाउने भूमिका खेल्नु हुँदैन । फुट्न लागेको दल छ भने पनि बचाउने हो । फुटाउन सघाउने होइन,’ उनले भने, ‘भोलि पनि त्यस्तो दिन आउनसक्छ, सभामुखज्यू तपाईं कसैको स्वार्थमा नआउनुहोला, यदि जानुभयो भने इतिहासले त्यसलाई कालो धब्बा लगाएर मात्रै सम्झिनेछ, म यहाँ कसैप्रति लक्षित गर्न चाहन्न ।’

    सम्बन्धित समाचार...