११ बैशाख २०८१, मंगलवार

कांग्रेस नेता चन्द्र भण्डारी भन्छन्- गठबन्धन टुटाउन प्रयासमै छौं

Chandra Bhandari

नेपाली कांग्रेसका सांसद चन्द्र भण्डारीले सत्तारुढ गठबन्धन टुटाउन आफूहरुको प्रयास जारी रहने बताएका छन् । उनले गठबन्धन टुटाउने कांग्रेसको प्रयास राष्ट्रपति चयनमा पनि हुने दाबी गरे ।

सभामुखमा देवराज घिमिरे निर्वाचित भएलगत्तै उनले सञ्चारकर्मीमाझ सरकार बनाउने बेला माओवादीसहितका कांग्रेस गठबन्धन टुटाएकाले आफूहरु पनि अब त्यही मिसनमा रहेको खुलासा गरे । वर्तमान एमाले-माओवादी गठबन्धन टुटाउनका लागि कांग्रेसको प्रयास स्वभाविकै रहेको उनको दाबी छ ।

सांसद भण्डारीले सभामुखलाई मिसन बनाएर सत्तारुढ गठबन्धन टुटाउने गरिएको प्रयास सफल नभएकाले अब राष्ट्रपतिलाई मिसन बनाएर आफूहरु अघि बढेको सांसद भण्डारीको भनाइ छ । ‘हामी चुनावमा गठबन्धनमा थियौं । त्यो गठबन्धन टुट्यो भने अब यो गठबन्धन पनि कसरी टुट्छ भनेर सोच्छ नि । पहिला हामी माओवादी सहित चारवटा पार्टी गठबन्धनमा गयौं । सरकार बनाउने बेलामा त्यो गठबन्धन टुट्यो नि । जसको गठबन्धन टुटेको छ । त्यसले अर्को गठबन्धन टुटाउन लागि रहन्छन नि । त्यो निरन्तर प्रक्रिया हो,’ उनले भने, ‘यो राजनीतिमा आउने स्वभाविक प्रक्रिया हो । त्यसकारण मिसन सभामुख थियो । त्यो भएन । अब मिसन राष्ट्रपति पनि हुन्छ । मिसन गठबन्धन टुटाउने हुन्छ । यसमा कुनै शंका नै भएन नि ।’

सांसद भण्डारीले गठबन्धनलाई टुटाउने काम राजनीतिमा निरन्तर भइरहने दाबीसमेत गरे ।