१४ बैशाख २०८१, शुक्रबार

संसदलाई निष्पक्ष रुपमा सञ्चालन गर्न सक्ने खुबी देवराज घिमिरेमा छ : नेम्वाङ

Subash Nembang

नेकपा एमालेका सांसद सुवासचन्द्र नेम्वाङले अहिलेको संसदलाई निष्पक्ष रुपमा सञ्चालन गर्नसक्ने खुबी सांसद देवराज घिमिरेमा रहेको भन्दै सभामुखमा विजयी गराउन आग्रह गरेका छन् ।

बिहीबार प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले अहिलेको संसदलाई निष्पक्ष रुपमा सञ्चालन गर्नसक्ने काम सभामुखका उम्मेदवार घिमिरेले मात्रै सक्ने बताएका हुन् । उनले सरकारलाई जनताप्रति व्यक्तिगत र सामूहिक रुपमा उत्तरदायी बनाउनुपर्ने जिम्मेवारी पूरा गर्नेमा आफू विश्वस्त रहेको बताए ।

उनले सिंगो प्रतिनिधिसभालाई एकताबद्ध बनाएर सांसदहरुको विश्वास जितेर सबैलाई एकजुट बनाएर अघि बढ्नको लागि निष्पक्ष सदनको भूमिकामा घिमिरे उपयुक्त पात्र रहेको उल्लेख गरे । उनले घिमिरेले नेपाली राजनीतिमा पुर्‍याएको योगदानको कदर गर्दै आफूले सभामुखमा प्रस्ताव गरेको बताए ।

नेम्वाङले भने, ‘सरकारलाई जनताप्रति व्यक्तिगत र सामूहिक रुपमा उत्तरदायी बनाउनुपर्ने जिम्मेवारी छ । थुप्रै चुनौतीहरु छन् । त्यसलाई अवसरमा रुपान्तरण गर्न सकिन्छ, त्यसको संघारमा हामी उभिएका छौँ । यस्तो बेलामा यो प्रतिनिधिसभा जिम्मेवारी पूरा गर्न सफल हुन्छ । यही विश्वासका साथ सिंगो प्रतिनिधिसभालाई एकताबद्ध बनाएर सांसदहरुको विश्वास जितेर सबैलाई एकजुट बनाएर अघि बढ्नको लागि निष्पक्ष सदनको भूमिकामा रहेर सभामुखले भुमिका निर्वाह गर्नुपर्छ । त्यसका लागि देवराज घिमिरेले यो भूमिका निर्वाह गर्न सक्नुहुनेछ ।’

सांसद नेम्वाङले सभामुखका उम्मेदवार घिमिरे सदनको बारेमा पनि विज्ञ भएकाले उनले प्रतिनिधिसभामा रहेका सम्पूर्ण राजनीतिक दलहरुको विश्वासलाई समेट्नेमा पूर्ण विश्वास रहेको बताए ।

    सम्बन्धित समाचार...