१६ बैशाख २०८१, आईतवार

विमान दुघर्टनाबारे अध्ययन गर्न फ्रान्सबाट आएको विज्ञ टोली घटनास्थल

FranceTeemMain 1674043441 e1674044832323

विमान दुघर्टनाबारे अध्ययन गर्न फ्रान्सबाट आएको विज्ञ टोली घटनास्थल पुगेको छ ।

एटीआर विमान निर्माता कम्पनी फ्रान्सबाट पोखरा आएको नौ सदस्यीय विज्ञ टोलीले आज विमान दुर्घाटना भएका सेती खोंचमा पुगेर अवलोकन गर्नुका साथै स्थानीय बासिन्दासँग सोधपुछ गरेको छ । टोलीले उडानमा संलग्नहरुसँग पनि छलफल गरी दुर्घटनाको कारण पत्ता लगाउने बताइएको छ । पोखरा आएका टोलीका कुनै पनि सदस्यले अनुमति नरहेको भन्दै सञ्चारमाध्यमसँग कुरा गर्न भने चाहेनन् ।

एटीआर विमान नेपालमा पहिलोपटक दुर्घटना भएकाले विमान निर्माता कम्पनीले दुर्घटनाप्रति चासो दिएको हो । त्यसैगरी नेपाल सरकारले विमान दुर्घटनाबारे छानबिन गर्न बनेको टोलीले पनि काम थालेको छ । पूर्वसचिव नागेन्द्र घिमिरेको संयोजकत्वमा बनाएको पाँच सदस्यीय दुर्घटना जाँच आयोगले पोखरामै रहेर काम थालेको जनाएको छ । आयोग सदस्यमा हवाई विज्ञका रुपमा नेपाली सेनाका अवकाश प्राप्त उपरथी दीपकप्रसाद बास्तोला र अवकाश प्राप्त क्याप्टेन सुनील थापा, हवाई मर्मत विज्ञ एकराज जंग थापा र सदस्य-सचिवमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सहसचिव बुद्धिसागर लामिछाने छन् ।

यसैबीच विमानमा सवार ७२ मध्ये ७१ जनाको शव फेला परिसकेको छ । एक जना अझै बेपत्ता छन् । विमान दुर्घाटनामा बेपत्ता एकजनाको खोजी जारी छ । सेना, सशस्त्र र नेपाल प्रहरीको उद्धारकर्मीसहित ड्रोन र गोताखोरले खोजी जारी राखेको छ । दुर्घटनामा ज्यान गुमाएका २२ जनाको शव परिवारले बुझिसकेका छन् भने बाँकी ४९ जनाको शव परीक्षणका लागि काठमाडौं पठाइएको छ ।

    सम्बन्धित समाचार...