१ जेष्ठ २०८१, मंगलवार

सभामुख उम्मेदवार ईश्वरी न्यौपाने भन्छिन्- मेरो जित्ने आधार सांसद हुन्, जित्नेमा विश्वस्त छु

ishoweri

नेपाली कांग्रेसका तर्फबाट प्रतिनिधिसभा सभामुखकी उम्मेदवार ईश्वरी न्यौपानेले सभामुखमा आफू विजयी बन्ने दाबी गरेकी छन् ।

संघीय संसद् भवन नयाँ बानेश्वरमा प्रतिनिधिसभा सभामुखका लागि बुधबार उम्मेवारी दर्ता गराएपछि सञ्चारकर्मीसँग कुरा गर्दै उनले आफू निर्वाचित हुनेमा विश्वस्त रहेको दाबी गरिन् । आफ्नो लागि जित्ने आधारहरु भनेकै प्रतिनिधिसभाका सदस्यहरु भएको उनको भनाइ छ । ‘संसदलाई सभामुखको आवश्यकता पर्छ । त्यो सभामुख निर्वाचनमार्फत हुन्छ । त्यही प्रक्रियाअनुसार मैले उम्मेदवारी दिएकी हुँ । निर्वाचनमा हारजित हुन्छ । निर्वाचनमा लड्दै गर्दा म हार्छु भनेर कोही पनि जाँदैन । म यो निर्वाचनमा पक्कै जित्छु । मेरो जित्ने आधारहरु सांसदको मत हो,’ उनले भनिन् ।

उनले निर्वाचन अघिसम्म आफू नेपाली कांग्रेसको नेता भए पनि निर्वाचित भएपछि सबैको सभामुखका रुपमा काम गर्ने प्रतिबद्धता पनि जनाइन् । सभामुख भएर सभा सञ्चालन गर्दा तटस्थ रुपमा रहेर सांसद र संसद्‌प्रति न्याय गर्ने उनको भनाइ छ । ‘निर्वाचनअघि म नेपाली कांग्रेसको नेता हो । सभामुखमा निर्वाचित भइसकेपछि म सबैको सभामुख हो । मैले सभामुख भएर सभा सञ्चालन गर्दा तटस्थ रुपमा रहेर सांसद र संसद्‌प्रति न्याय गरेर सकेसम्म राम्रोसँग संसद् चलाउँछु,’ न्यौपाने भन्छिन् ।

उम्मेदवार न्यौपानेको प्रस्तावकमा कांग्रेस महामन्त्री विश्वप्रकाश शर्मा छन् । समर्थकमा नेकपा एकीकृत समाजवादीका सांसद प्रकाश ज्वाला छन् । उनलाई एकीकृत समाजवादी, उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी (जसपा) र महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) को समर्थन छ ।

    सम्बन्धित समाचार...