२९ बैशाख २०८१, शनिबार

फेरि एकपटक रोनाल्डो र मेस्सी आमनेसामने

ronaldo vs messi

पोर्चुगिच स्ट्राइकर क्रिस्टियानो रोनाल्डो र विश्व विजेता लियोनल मेस्सी फेरि एक पटक आमने सामने हुने भएका छन् । रोनाल्डोले रियाद ११ लाई नेतृत्व गर्दा चिर प्रतिद्वन्द्वी लियोनल मेस्सी सम्मलित पिएसजीसँग मैत्रीपूर्ण खेल खेलिने छ ।

यो खेल आगामी बिहीबार रियादस्थित किङ्ग फाहद स्टेडियममा नेपाली समयअनुसार राति ११ बजे सुरु हुनेछ ।

अरेबियन प्रो लिग क्लब अल नासरमा आबद्ध भएयता रोनाल्डोको यो पहिलो खेल हो । उनको टोलीमा साउदी अरेबियन प्रो लिग क्लब अल नासर र अल हिलालका खेलाडीहरुको बाहुल्यता रहनेछ । जसमा कतार विश्वकप २०२२ को समूह चरणमा साउदी अरेबियाले अर्जेन्टिनालाई २ – १ गोलले हराउँदा गोल गर्ने खेलाडी सालिम अल दसारी पनि रहेका छन् । यस्तै साउद अब्दुलहामी पनि टिममा छन् ।

यो खेलका लागि २० लाखभन्दा बढी टिकेटका लागि अनलाइन माध्यमबाट माग भएका थिए । भीआईपीतर्फ रहेको च्यारिटी टिकट बियोन्ड इमाजिनेसन खरिदका लागि १० मिलियन साउदी रियाल राखिएको छ । अक्सनबाट यो टिकट खरिदका लागि आज अन्तिम दिन हो ।

यो टिकट खरिद गर्नेले रोनाल्डो, मेस्सी, नेइमार तथा केलियन एम्बाप्पेजस्ता स्टार खेलाडी भेट्ने मौका पाउनेछन् ।

रोनाल्डोले घरेलु लिगका सुरुवाती दुई खेल प्रतिबन्धका कारण गुमाएका थिए । इंग्लिस क्लब म्यानचेस्टर युनाइटेडबाट खेल्दा उनले एक समर्थकको फोन खोसेर फाल्दिएपछि अनुशासनको कारबाही स्वरुप उनको डेब्यु ढिला हुने भएको हो ।

रोनाल्डो गत जनवरीको सुरुवाततिर अरब आइपुगेका हुन् । उनलाई अरबियन क्लब अल नासरले २०२५ सम्मका लागि २०० मिलियन युरोमा भित्र्याएको हो । रोनाल्डो लिगमा भने अगामी साताको आइतबार डेब्यु गर्नेछन् ।

    सम्बन्धित समाचार...