१५ बैशाख २०८१, शनिबार

लुम्बिनीमाथि मधेस प्रदेशको १६ रनको रोमाञ्चक जित

madhesh pradesh vs lunbini

लुम्बिनी प्रदेशमाथि १६ रनको रोमाञ्चक जित निकाल्दै मधेस प्रदेश इटहरीमा जारी प्रधानमन्त्री कप महिला राष्ट्रिय ट्वान्टी-ट्वान्टी क्रिकेट प्रतियोगिताको सेमिफाइनल प्रवेश गरेको छ ।

इटहरीको जनता पार्कमा बुधबार भएको पहिलो खेलबाट सुखद् नतिजा निकाल्दै मधेस प्रदेशले अन्तिम चारमा स्थान बनाएसँगै इटहरीमा जारी प्रधानमन्त्री कप महिला राष्ट्रिय ट्वान्टी-ट्वान्टी क्रिकेटमा सेमिफाइनल समीकरण पूरा भएको छ । यसअघि समूह ए बाट सुदूरपश्चिम समूह विजेता र एपीएफ उपविजेता बन्दै अन्तिम चारमा प्रवेश गरेका थिए । यस्तै समूह बी बाट प्रदेश १ सबै खेलमा जित निकाल्दै नकआउट चरणमा पुगेको थियो ।

अन्तिम चारमा स्थान बनाउने क्रममा मधेसले प्रस्तुत गरेको १०८ रनको लक्ष्य पछ्याएको लुम्बिनीले निर्धारित २० ओभरमा पाँच विकेट गुमाएर मात्र ९१ रन जोड्नसक्यो । लुम्बिनीका लागि रञ्जु श्रेष्ठ र मधु डीसीले अविजित समान २१ रनको पारी खेले पनि जितका लागि पर्याप्त भएन । यसअघि ओपनर लक्ष्मी चौधरीले १२ रन जोड्दै मध्यम सुरुवात गर्दा आस्मा पुलामी मगर र कप्तान सरस्वती जीएमले समान ११ रनको पारी खेलेका थिए । यसबाहेक सरस्वती पुनले १० रन जोड्दा सुस्मिता बजगाई शून्यमा पभेलियन फर्किइन् । लुम्बिनीको इनिङलाई रोक्ने क्रममा मधेसकी भूमि सिंहले दुई तथा कप्तान कविता गौतमले एक विकेट लिए ।

यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको मधेसले पूरै २० ओभरमा पाँच विकेटकौ क्षतिमा १०७ रन बनाएको थियो । मधेसका लागि साना प्रविनले ६४ बलमा पाँच चौका मद्दतमा सर्वाधिक ४६ तथा रोजी कडारीले १५ रन बनाए भने अन्य खेलाडीले दोहोरो अंकको स्कोर गर्न सकेनन् । लुम्बिनीका लागि मनीषा राना, सरस्वती पुन र बिवास्ना जीसीले समान एक विकेट लिए ।

प्रतियोगितामा शुक्रबार सेमिफाइनल खेल हुनेछन् । दिनको पहिलो सेमिफाइनल खेल सुदूरपश्चिम प्रदेश र मधेस प्रदेश तथा दोस्रो सेमिफाइनल खेल एपीएफ र प्रदेश १ बीच हुनेछ ।

    सम्बन्धित समाचार...