८ बैशाख २०८१, शनिबार

दुई सिफ्टमा सरकारी र निजी कार्यालय सञ्चालन हुने

yubaraja

अब कार्यालय बिहान ८ बजेदेखि बेलुकी ६ बजेसम्म खुल्ने भएको छ ।

सरकारले सरकारी तथा निजी कार्यालय र बै‌ंक, वित्तीय संस्थाका कार्यालय दुई सिफ्टमा सञ्चालन गर्ने भएको हो ।

कोरोना महामारी रोकथामका लागि सुरक्षात्मक उपाय अपनाउन र कर्मचारीबीच दूरी कायम गर्न कार्यालय दुई सिफ्ट चलाउने निर्णय बुधबारको मन्त्रिपरिषद बैठकले गरेको हो ।

सबै सरकारी तथा गैरसरकारी संस्था, शिक्षण संस्था (पठनपाठन कार्य बाहेक), निजी तथा सार्वजनिक संस्थाहरु समेतका कार्यालयहरु २ सिफ्टमा सञ्चालन गर्ने निर्णय गरेको सरकारका प्रवक्ता, अर्थ तथा सञ्चार तथा सूचना प्रविधिमन्त्री डा. युवराज खतिवडाले जानकारी दिए । 

असार १ गतेदेखि सबै सरकारी, निजी र बैंक तथा वित्तीय संस्थाका कार्यालय विहान ८ बजेदेखि १ बजेसम्म र १ बजेदेखि बेलुका ६ बजेसम्म सञ्चालन हुनेछन् ।

आर्थिक वर्षको अन्तिम समय भएकाले धेरै काम हुने र कार्यालयमा पनि भौतिक दूरी कायम गर्नुपर्ने भएकाले दुई सिफ्टमा सञ्चालन गर्न लागिएको डा. खतिवडाले जानकारी दिए ।

सरकारले चैत ११ गते लकडाउन सुरु गरेदेखि अत्यावश्यक सेवाबाहेक अन्य सरकारी कार्यालय बन्द थिए । यो निर्णयले आर्थिक वर्षको अन्त्यमा हुने कामको चापलाई व्यवस्थापन गर्न सहयोग पुग्ने समेत उनको भनाई थियो ।