
प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको पदाधिकारी बैठक बस्दैछ ।
बिहान ९ बजे बस्ने पदाधिकारी बैठकमा प्रतिनिधिसभाको सभामुखका विषयमा छलफल हुने छ ।
सभामुख चयनका लागि आज मनोनयन दर्ता हुँदै छ । दिउँसो १ देखि अपराह्न ४ बजेसम्म उम्मेदवारले मनोनयन दर्ता गर्ने कार्यतालिका रहेको छ ।
सरकारलाई विश्वासको मत दिएको नेपाली कांग्रेसले सभामुखमा उम्मेदवारी दिने वा अन्य दललाई समर्थन गर्ने भन्ने निर्णय गर्ने भएको छ ।
सत्ता साझेदार दलहरुबीचको भागबन्डामा सभामुख एमालेको भागमा परेको छ । एमालेले आफ्नो तर्फबाट अहिलेसम्म उम्मेदवार तय गर्न सकेको छैन ।
यसअघि, मंगलबार अपराह्न प्रधानमन्त्री पुष्पकमल दाहालले राष्ट्रपति, उपराष्ट्रपति, सभामुख र उपसभामुख चयन गर्दा सहमति गरेर जान सकिन्छ कि भनेर सर्वदलीय बैठक बोलाएका थिए । तर प्रधानमन्त्रीको उक्त प्रस्तावमा कुनै सहमति जुट्न सकेन ।
सभामुखबारे आन्तरिक छलफलमा जुटेको कांग्रेसले कसलाई अघि सार्ने भन्ने पनि छलफल चलाइरहेको छ । यद्यपि, उम्मेदवारी दिने वा नदिनेबारे आजको पदाधिकारी बैठकले निर्णय गर्ने भएको छ । कांग्रेसले राष्ट्रपति र सभामुख निर्वाचनबारे सत्ता गठबन्धनसँग छलफल गर्न तयार रहेको संकेत गरेको छ ।