२८ बैशाख २०८१, शुक्रबार

कोभिडबाट ६० हजार मानिसको निधन चीनमा

china covids

चीनमा गत महिना शून्य कोभिड नीति परित्याग गरेयता करिब ६० हजार मानिसले कोरोनाका कारण ज्यान गुमाएका छन् ।

विश्वस्वास्थ संगठन र अमेरिकालगायतका पश्चिमा देशले कोरोनासम्बन्धी सही सूचना सार्वजनिक नगरेको भन्दै आलोचना गरेपछि चीनले नयाँ तथ्याङ्क सार्वजनिक गरेको हो ।

राष्ट्रिय स्वास्थ्य आयोगकी चिकित्सा मामिला प्रमुख जियाओ याहुयीले शनिबार आयोजित पत्रकार सम्मेलनमा डिसेम्बर ८ देखि जनवरी १२ सम्ममा ५९ हजार ९ सय ३८ जनाले कोभिडका कारण ज्यान गुमाएको जानकारी दिएकी हुन् । तीमध्ये साढे पाँच हजारले कोभिड संक्रमणका कारण श्वासप्रश्वासमा अवरोध सिर्जना भएपछि ज्यान गुमाएको र बाँकी ५४ हजारले कोभिड र अन्य गम्भीर रोगको सम्मिश्रणका कारण ज्यान गुमाएको जियाओले बताइन् ।

यसअघि चीनले ८ तारिख यता डिसेम्बर महिनामा जम्मा ३७ जनाले कोभिडसम्बन्धी संक्रमणका कारण ज्यान गुमाएको जनाएको थियो भने महामारी शुरु भएयता ५ हजारभन्दा बढीले मात्र कोरोनाका कारण ज्यान गुमाएको बताउँदै आएको थियो ।

अन्तर्राष्ट्रिय समाचारमाध्यमले अस्पताल र अन्त्येष्टिस्थलहरुमा अत्यधिक चाप बढेको जनाइरहँदा चीनले सार्वजनिक गरेको उक्त तथ्यांकले उसको विश्वसनियतामाथि आशंका उत्पन्न गरेको थियो ।

जियाओले कोरोना संक्रमण उच्च विन्दुमा पुगेर अब ओरालो लागिरहेको जानकारी दिएकी थिइन् । गत डिसेम्बर २३ मा २८ लाख ६० हजारभन्दा बढी मानिस ज्वरो क्लिनिक पुगेकामा जनवरी १२ मा यो संख्या घटेर ४ लाख ७७ हजार पुगेका उनले बताएकी छन् ।

यसैबीच विश्व स्वास्थ्य संगठनले बेइजिङले नयाँ तथ्यांक सार्वजनिक गरेकोमा त्यसको स्वागत गरेको छ । साथै उसले थप विस्तृत तथ्यांक जारी गर्न उसलाई पुन: आग्रह गरेको छ ।

अन्तर्राष्ट्रिय स्वास्थ्य विज्ञहरुले चीनमा यस वर्ष कम्तिमा १० लाख मानिसले कोभिडसम्बन्धी संक्रमणका कारण ज्यान गुमाउने प्रक्षेपण गरेका छन् ।

    सम्बन्धित समाचार...