७ जेष्ठ २०८१, सोमबार

इंग्लिस प्रिमियर लिग: ब्राइटनसँग लिभरपुल स्तब्ध

liverpol

इंग्लिस प्रिमियर लिगमा ब्राइटनसँग लिभरपुल ३ – ० गोलले स्तब्ध बनेको छ ।

एमेक्स स्टेडियममा भएको खेलमा पहिलो हाफ गोलरहित बराबरीमा रोकियो । दोस्रो हाफमा उत्कृष्ट लयमा देखिएको ब्राइटनले सुरुवाती समयमा नै २ गोल गर्‍यो । ४६ औँ मिनेटमा सोली मार्चले गोल गर्दै घरेलु टोलीलाई अघि बढाए । ५३ औँ मिनेटमा इभान फर्गुसनको सहयोगमा मार्चले नै गोल गर्दै टिमको अग्रता दोब्बर बनाए ।

८१ औँ मिनेटमा ड्यानी वेलब्याकले अर्को गोल थप्दै टिमको जित सुनिश्चित बनाए । डी जार्बीको टिम ब्राइटनले पहिलो हाफमा पनि लिभरपुलमाथि दबाब बनाएको थियो । तर गोल भने गर्न चुकेको थियो । मिटोमाले गरेको प्रहार ट्रेन्ट एलेक्जेन्डर आर्नल्डले गोल लाइनको नजिकबाट क्लियर गरेका थिए ।

यो जितपछि ब्राइटन तालिकाको सातौँ स्थानमा उक्लिएको छ । उसको १८ खेलबाट ३० अंक छ । यता खराब लयमा रहेको लिभरपुलको समान खेलबाट २८ अंक छ । लिभरपुल ९ औँ स्थानमा छ । लिभरपुलका स्टार खेलाडी मोहम्मद सल्लाह तथा कोडी गाक्पोले कुनै प्रभाव देखाउन सकेनन्। यो लिभरपुलको सबै प्रतियोगितामा गरी तेस्रो हार हो ।

यस्तै, गएराति नै भएको अर्को खेलमा साउथह्याम्पटनले एभर्टनलाई २ – १ गोलले हरायो । साउथह्याम्पटनले पहिलो हाफमा १ – ० ले पछि परेको अवस्थामा उत्कृष्ट कमब्याक गरेको हो ।

गोडिसन पार्कमा भएको खेलमा अमाडौँ ओनानाको गोलमा घरेलु टोली एभर्टनले अग्रता बनाएको थियो । तर दोस्रो हाफमा जेम्स वार्ड प्रोजले २ गोल गर्दै साउथह्याम्टनलाई जित दिलाएका हुन् ।

४६ औँ मिनेटमा एडाम्सको पासमा गोल गरेका उनले ७८ औँ मिनेटमा फ्रिकिकमार्फत उत्कृष्ट गोल गर्दै टिमको जित सुनिश्चित बनाएका हुन् ।

यो जितपछि तालिकाको पुच्छारमा रहेको साउथह्याम्पटनको १५ अंक भएको छ । खेलको नतिजापछि १९ औँ स्थानमा झरेको एभर्टनलाई रेलिगेसनको खतरा बढेको छ ।

गएराति नै भएका अन्य खेलमा नटिङ्गम फरेष्टले लेस्टर सिटीलाई २ – ० गोलले हराएको छ । वेस्ट ह्याम उल्भससँग पराजित हुँदा ब्रेन्टफर्डले बर्नमथलाई २ – ० गोलले हरायो ।

    सम्बन्धित समाचार...