४ जेष्ठ २०८१, शुक्रबार

जालझेलपूर्ण राजनीतिमै अगाडि सदन र सरकारको यात्रा !

SattaGathabandan
फाइल फोटो

संघ र प्रदेशमा नयाँ सरकार गठन भए पनि मन्त्रिपरिषद्ले पूर्णता पाएको छैन । मन्त्री बनाइएकाहरू धेरैले जिम्मेवारीसमेत पाएका छैनन् । उता सुरुवातदेखि नै सदनमा दलहरुबीच चर्काचर्की सुरु भएको छ । यसले नयाँ जनप्रतिनिधिको पाँच वर्षे कार्यकाल सहजै अगाडि नबढ्ने संकेत मात्र गर्दैन, सदन र सरकारको यात्रा जालझेलपूर्ण राजनीतिमै अगाडि बढ्ने देखिन्छ ।

सरकार विस्तारकै विषयमा देखिएको खिचातानीले दलहरूको यात्रा सहज र सहमतिपूर्ण हुने देखिँदैन । एकले अर्कालाई अप्ठ्यारोमा पार्ने रणनीति अपनाउँदा क्षणभर मै समीकरण बदलिन्छ । दलहरूका बीचमा छिनछिनमै हुने समीकरण हेरफेर नै राजनीतिक अस्थिरताको मुख्य कारक बनेको छ । अहिले सदनमा सुरुदेखि नै देखिएको भनाभन र कटाक्षले सहज रूपमा अगाडि बढ्न सक्ने संकेत गर्दैन । सत्तारुढ दलकैबीचमा तमाम मुद्दामा फरकपना त छ नै, सरकार विस्तारमा बढ्दै गएको असमझदारीले पनि यात्रा सहज देखिँदैन ।

दलहरुबीच अहिले बनेको समीकरण सत्ता स्वार्थकै लागि हो । स्वार्थ मिलेसम्म मात्रै यो टिक्न सक्छ । अर्कोतर्फ दलहरूमा बदलाको भावना उच्च देखिन्छ । विश्वास कायम गरेर अगाडि बढ्नुभन्दा पनि चालबाजीपूर्ण तरिकाले गठबन्धन गरिएकाले क्षणभरमै स्वरूप परिवर्तन नहोला भन्ने आधार देखिँदैन ।

कुनै पनि दलको एकल बहुमत नहुँदाको असर सधैँ सरकारमा देखिन्छ नै । त्यसमाथि अहिलेको सदनको संरचनाले त अस्थिरता झन् बढाउने खतरा छ । त्यति मात्रै होइन, पूरा गर्नै नसक्ने खालका एजेन्डा बोकेका दलहरूसँगै अगाडि बढ्नुपर्ने स्थिति छ । सत्ताको मुख्य घटक नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र प्रधानमन्त्री पुष्पकमल दाहालबीचको सम्बन्ध पनि स‌ंशयपूर्ण नै छ । उता ठूलो दल हुँदा पनि सबैतिर प्रतिपक्षीमा बस्नुपर्ने बाध्यतामा पुगेको कांग्रेस सरकार भित्र छिर्न अनेक दाउ खोजिरहेको छ । यही राजनीतिक परिस्थितिमा सरकार र सदनको यात्रा चुनौतीपूर्ण देखिन्छ ।

जनताका आकांक्षा पूरा गर्न सरकार र सदनले आफ्नो कार्यभार विना अवरोध गर्न पाउनुपर्छ । तर, सुरुवातमै देखिएको राजनीतिक दाउपेचले आशंका जन्माएको छ ।