१ जेष्ठ २०८१, मंगलवार

शक्ति बाँडफाँटका लागि जुटेन सहमति, मन्त्रिपरिषद् अझै अपूरो

SattaGathabandan
फाइल फोटो

प्रधानमन्त्री पुष्पकमल दाहालले कार्यभार सम्हालेको १९ दिन बितिसक्दा पनि मन्त्रिपरिषद् विस्तार गर्न सकेका छैनन् । गठबन्धन दलभित्रका आकांक्षी व्यवस्थापन जटिल बन्दै गएपछि मन्त्रिपरिषद् विस्तार हुन नसकेको हो ।

शक्ति बाँडफाँटका लागि प्रधानमन्त्री दाहाल र एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच पटक-पटक छलफल भए पनि सहमति जुट्न सकेको छैन । त्यसको एउटा कारणका रूपमा गठबन्धनभित्र बढ्दै गएको अविश्वासलाई पनि मानिएको छ । आखिर छोटो समयमै गठबन्धनभित्र किन बढ्दै छ त अविश्वास ?

पुस ११ गते कार्यभार सम्हालेका प्रधानमन्त्री पुष्पकमल दाहालले गठबन्धन दलबीच सहमति जुटाएर चाँडै मन्त्रिपरिषद्लाई पूर्णता दिने भनेका थिए । तर, अहिलेसम्म मन्त्रिपरिषद् विस्तार त परको कुरा यस बारेमा गठबन्धन दलहरू एकै ठाउँमा बसेर छलफलसमेत गर्न सकेका छैनन् । त्यति मात्र होइन, उपराष्ट्रपति, उपसभामुख जस्ता पद कुन दलले लिने भन्ने टुंगो लागेको छैन ।

सबै विषय प्याकेजमै सहमति गर्ने भन्दै प्रधानमन्त्री दाहाल र एमाले अध्यक्ष ओलीबीच कहिले बालुवाटार त कहिले बालकोटमा छलफल भए पनि ठोस प्रगति भएको छैन । दाहाललाई प्रधानमन्त्री बनाउने बेलामा एमालेले राष्ट्रपति र सभामुख पद लिने सहमति भएको थियो । तर अहिले प्रधानमन्त्रीलाई विश्वासको मत दिएको कांग्रेसले राष्ट्रपति वा सभामुखमा दाबी गर्न थालेपछि एमाले झस्किएको छ ।

कुन दलले कति मन्त्रालयले लिने भन्नेमा आ-आफ्नै अडान बाधक बनेका छन् ।

अहिले सातै प्रदेशमा मुख्यमन्त्री चयन भएका छन् । तर, केन्द्रमा ८ जनालाई मन्त्री बनाइए पनि चार जनाको कार्यभार तोकिएको छैन । माओवादी केन्द्र प्रधानमन्त्रीलाई विश्वासको मत दिएको कांग्रेसप्रति लचक छ । उसले राष्ट्रिय सहमतिको सरकारको कुरासमेत गर्न थालेको छ । अहिले दाहाल र ओलीबीच भएका छलफलमा समेत यो विषयले प्रवेश पाएको बताइएको छ । तर, नेताहरू अहिले नै यसबारेमा खुलेर कुरा गर्न तयार देखिँदैनन् ।

सत्ता साझेदार सबै दल सरकारमा सहभागी हुन तयार रहे पनि कुन दलले कति मन्त्रालयले लिने भन्नेमा आ-आफ्नै अडान बाधक बनेका छन् । उनीहरू एमाले र माओवादी केन्द्रबीचको सहमतिको पर्खाइमा छन् ।

गठबन्धन दलहरुबीच अविश्वास बढ्नुमा कांग्रेसको हात देखिन्छ । अहिले कांग्रेसले राष्ट्रपति वा सभामुख पद लिन शक्ति सन्तुलनको कुरा गरिरहेको छ । कुनै एउटा पद लिन सके भविष्यमा एमाले र माओवादीबीचको गठबन्धन भत्काउन सजिलो हुने बुझाइ उसको छ । तर, प्रधानमन्त्री दाहाल कांग्रेससँग लचिलो भए पनि एमाले अहिले नै कुनै पनि पद दिन तयार छैन । यही रस्साकस्सीका बीच शक्ति बाँडफाँट त पेचिलो बनेको छ नै गठबन्धन दलबीच अविश्वास पनि बढेको देखिन्छ ।