६ चैत्र २०८०, मंगलवार

प्रतिपक्षमा बस्छ कांग्रेस, प्रधानमन्त्रीलाई विश्वासको मत दिँदैन: महामन्त्री थापा

Gagan Thapa

नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले नेपाली कांग्रेसले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत नदिने बताउनुभएको छ ।

शनिबार पार्टीको संसदीय दलको बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै संसदका दोस्रो, तेस्रो लगायत अन्य दलहरुले गठबन्धन बनाएर साझा उम्मेदवार बनाएको अवस्थामा कांग्रेसले प्रधानमन्त्रीलाई विश्वासको मत नदिने स्पष्ट पार्नुभएको हो ।

उहाँले आफ्नो व्यक्तिगत धारणा भएपनि पार्टीको औपचारिक निर्णय भने पुस २६ गतेको बैठकले नै तय गर्ने बताउनुभयो । उहाँले अन्य दलहरु मिलेर गठबन्धन बनाएर साझा उम्मेदवार उठाइरहेको बेलामा कांग्रेसले विश्वासको मत दिन्छ भन्ने सोचेर नबस्न आग्रह गर्नुभयो । उहाँले नेपाली कांग्रेस प्रतिपक्षमा बसेर नै आफ्नो जिम्मेवारी पूरा गर्ने बताउनुभयो ।

महामन्त्री थापाले नेपाली काँग्रेसको केन्द्रीय समितिको बैठक पुस २८ गतेबाट बस्ने र बैठकले निर्वाचन, राजनीतिक घटनाक्रमको बारेमा विस्तृत छलफल गर्ने बताउनुभयो । उहाँले गठबन्धन गरेकोदेखि गठबन्धनलाई टिकाउन नसकेको बारेमा पनि केन्द्रिय समितिको बैठकमा गहन, खुला र पारदर्शी छलफल हुनेपनि बताउनुभयो ।

महामन्त्री थापाले नयाँ गठबन्धन बनाउन लागेको भन्ने भ्रमपूर्ण समाचार फैलाएर कांग्रेसको प्रतिष्ठामाथि आँच पुर्‍याउन खोजेको बताउनुभयो । उहाँले जनता समाजवादी पार्टी, नेपाल, नेकपा (एकीकृत समाजवादी) का अध्यक्षहरुसँग पार्टी सभापति शेरबहाुरद देउवासँगको भेट शीर्ष नेताहरुबीचको सामान्य भेटघाट रहेको स्पष्ट पार्नुभयो । उहाँले राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङदेनलाई काँग्रेसले प्रधानमन्त्रीमा प्रश्ताव गर्ने भन्नेकुरा निराधार रहेको पनि बताउनु भयो ।

महामन्त्री थापाले केन्द्रिय समितिको बैठकबाट नीति अधिवेशनको तिथि, मिति ठाउँ तय हुने पनि बताउनुभयो । उहाँले नीति अधिवेशन कसैलाई मागेको नभइ आफ्नो गर्ने कामको बारेमा जानकारी गराएको बताउनुभयो । केही समयअघि पार्टी महामन्त्री थापा र विश्वप्रकाश शर्माले नीति अधिवेशनको माग गरेको भन्दै सञ्चारमाध्यममा समाचार प्रकाशित भएका थिए ।