१७ बैशाख २०८१, सोमबार

रोनाल्डोलाई अनुबन्ध गरेपछिको पहिलो खेलमा अल नासर विजयी

Saudi Arabia Ronaldo

क्रिस्टियानो रोनाल्डोलाई अनुबन्ध गरेपछिको पहिलो खेलमा साउदी अरेबियन क्लब अल नासरले जित हात पारेको छ ।

साउदी प्रो लिगमा अल नासरले घरेलु मैदान किङ साउद युनिर्भसिटीमा अल तेईविरुद्ध खेलेको थियो । तर रोनाल्डो भने क्वाडमा थिएनन् । रोनाल्डोमाथि दुई खेलको प्रतिबन्ध छ । सोही कारण पोचुगिच फरवार्डले अल नासरमा डेब्यु गर्न कुर्नु परेको हो ।

रोनाल्डो रंगशालामा भने उपस्थित थिए । इंग्लिस प्रिमियर लिग क्लब म्यानचेस्टर युनाइटेडमा हुदा एभर्टनविरुद्धको खेलपछि रोनाल्डोले समर्थकतिर मोबाइल फालेका थिए । जसका कारण इंग्ल्यान्ड फुटबल संघले कारबाही स्वरुप उनीमाथि दुई खेलको प्रतिबन्ध लगाएको थियो ।

फिफाको खेलाडी ट्रान्सफरको नियमअनुसार यदि कुनै संघले खेलाडीमाथि प्रतिबन्ध लगाएको भए पछिल्लो क्लबले पनि पालना गर्नुपर्नेछ । प्रतिबन्धका बाबजुत स्थानीय सञ्चारमाध्यमहरुले रोनाल्डोले डेब्यु गर्ने बताएका थिए । यो खेल बिहीबार बेलुका हुने तालिका थियो ।

तर भारी वर्षाका कारण रंगशालाको विद्युत् आपूर्तिमा समस्या आएपछि एकदिन सरेको हो । खेलमा अल नासर २-० गोलले विजयी भयो । दुवै गोल तालिस्काले गरेका थिए । जितपछि अल नासर अंक तालिकाको शीर्ष स्थानमा उक्लिएको छ । १२ खेलबाट अल नासरको २९ अंक छ । एक खेल कम खेल्दै दोस्रो स्थानमा रहेको अल साहबाबको २५ र तेस्रो स्थानको अल हिलालको पनि २५ नै अंक छ ।

    सम्बन्धित समाचार...