२ जेष्ठ २०८१, बुधबार

सरकारका न्यूनतम साझा कार्यक्रमको मस्यौदा आज शीर्ष नेतालाई बुझाइने

karyadal gathabandhan

सरकारमा रहेका राजनीतिक दलकोतर्फबाट सार्वजनिक गरिने न्यूनतम साझा कार्यक्रमको मस्यौदा आज कार्यदलले शीर्ष नेतालाई बुझाउने भएको छ ।

मस्यौदा बुझाउने समय भने टुङ्गो नलागेको राप्रपाका महामन्त्री धवलशम्शेर राणाले जानकारी दिनुभयो । न्यूनतम साझा कार्यक्रमको बारेमा सहमति गरेको कार्यदलले शीर्ष नेतालाई जिम्मा लगाउने अधिकार संयोजक तथा उपप्रधान एवं अर्थमन्त्री विष्णु पौडेलललाई दिएको उहाँको भनाइ छ ।

नेकपा एमाले, माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, जनता समाजवादी पार्टी नेपाल, जनमत पार्टी र नागरिक उन्मुक्ति पार्टीले १८ बुँदे नीतिगत प्राथमिकता तथा कार्यक्रमको अन्तिम मस्यौदा तयार पारेका छन् ।

गुणस्तरीय सेवा, दिगो आर्थिक विकास र अर्थतन्त्रको सबलीकरण, गुणस्तरीय शिक्षा र शैक्षिक पूर्वाधार लगायतका विषय मस्यौदामा समेटिएको राष्ट्रिय स्वतन्त्र पार्टीका महामन्त्री मुकुल ढकालले जानकारी दिनुभयो ।

पृथ्वी जयन्तीको अवसरमा सार्वजनिक विदा दिने विषयमा पनि सरकारमा रहेका दलहरू सहमत भएका छन् ।

    सम्बन्धित समाचार...