२७ बैशाख २०८१, बिहीबार

सरकार उद्योग व्यवसायको सुरक्षा गर्न प्रतिबद्ध : गृहमन्त्री लामिछाने

rabi lamichanne

उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेले उद्योग व्यवसायको सुरक्षाका लागि सरकार प्रतिबद्ध रहेको जनाएका छन् ।

नेपाल चेम्बर अफ कमर्सका पदाधिकारीहरुसँग बुधबार भएको छलफलमा उनले विगतका सरकारले उद्योगी व्यवसायीलाई जस्तो आँखाले हेरे पनि वर्तमान सरकारले रातो कार्पेट ओछ्याएर स्वागत गर्ने आश्वासन दिए । उद्योग व्यवसायको सुरक्षाका लागि गृह मन्त्रालयले गर्नुपर्ने कुनै पनि काममा नचुक्ने उनको प्रतिबद्धता थियो । गृहमन्त्री लामिछानेले सरकारले उद्योग व्यवसाय क्षेत्रको काम गर्न छुट्टै युनिट खडा गर्ने र उद्योगी व्यवसायीहरु साना कामका लागि मन्त्रालय वा कार्यालयमा धाउनुपर्ने अवस्थाको अन्त्य गर्ने पनि जनाए ।

उद्योगी व्यवसायीहरुले आफ्नो व्यापार वृद्धि गरी मुलुकको राजस्व वृद्धिमा ध्यान दिन लामिछानेको आग्रह थियो । उनले उद्योगी व्यवसायीहरुले सरकारी कार्यालय, कार्यालयका हाकिम र राजनीतिज्ञहरुलाई भेटेर समय खेर फाल्नु नपर्ने जनाए । लामिछानेले सरकारको नीतिगत विषयमा समस्या आए व्यवसायीहरुले सल्लाह सुझाव दिन आग्रह पनि गरे । उनले उद्योगी व्यवसायीहरुले पैसा कमाउनुलाई अपराध गर्नु जस्तो व्याख्या गर्ने अवस्थाको अन्त्य गर्नेपनि आश्वासन दिए ।

उनले उद्योगी व्यवसायीहरुले सही ढंगले स्वच्छ प्रतिस्पर्धा गरी व्यापार व्यवसायबाट पैसा कमाउँदा नै मुलुकको उन्नति हुने जनाए । लामिछानेले उद्योग व्यवसाय बढ्दै जाँदा मुलुकभित्र रोजगारीको सिर्जना हुने विश्वास व्यक्त गरे । उनले कानुनभन्दा बाहिर रहेर काम गर्नेहरुको संख्या ठूलो रहेको भन्दै फोहोर सफा गर्न समय लाग्ने बताए । उनले फोहोरको चाङ सफा गर्दा बढी दुर्गन्ध आउनसक्ने भन्दै त्यसको लागि उद्योगी व्यवसायीहरुले दुर्गन्ध सहन तयार हुनु सुझाए । उनले आफूले कसैलाई जोगाउन र कसैलाई फसाउनुपर्ने नभएको उल्लेख गर्दै कानुनको परिधिभित्र रहेर काम गर्ने प्रतिबद्धता जनाए ।

उनले भने, ‘मुलुकको अर्थतन्त्रमा परेको प्रभाव कालोबजारीको कारण परेको भनेर अर्थमन्त्रीज्यूले ठूलो रकम देखाउनुभएको छ । आफैँमा मेरा लागि चुनौतिको विषय छ र हाम्रो कार्य कुशलतामा निर्भर हुने भएको हुनाले कालोबजारी चोरी पठारी प्राथमिकतामा पर्छन् । निर्धक हुनुस् । हिजोको जस्तो अवस्था रहँदैन । सुरक्षा निकाय अहिले जुन पूर्वाधार र मनोबलमा कमी छ । हामीले मोटिभेट गर्नसकेका छैनौं । यहाँ भित्र पनि चलखेल र राजनीतिक दबाब धेरै भएको हुनाले त्यहाँ हामीले राजनीतिक हस्तक्षेप गर्दैनौं भनेका छौं ।’

लामिछानेले प्रभाव कालोबजारीको कारण मुलुकको अर्थतन्त्रमा प्रभाव परेका भन्दै कोलोबजारी गर्नु गृह मन्त्रालयको लागि चुनौतीको विषय भएको जनाए । उनले कालोबजारी, चोरी-पैठारी नियन्त्रण गर्ने विषय मन्त्रालयको प्रमुख प्राथमिकतामा पर्ने बताए । कालोबजारी तथा कानुनविपरीतका काममा कुनै पनि राजनीतिक दबाब आए कारबाही गर्ने उनको चेतावनी थियो । उनले गृह मन्त्रालयले राज्यको अर्थतन्त्रमा योगदान गर्ने क्षेत्रमा सुरक्षा व्यवस्थाको विषयमा अध्ययन भइरहेको जनाए । चेम्बरले गृहमन्त्रीलाई कालोबजारी,सीमानाकाबाट हुने चोरीपैठारी नियन्त्रण तथा उद्योग व्यवसायको सुरक्षा दिनुपर्ने माग राखेको छ ।