३१ बैशाख २०८१, सोमबार

एक साताभित्र सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा दाबी पेस गर्न आह्वान

sudur pradsh shabha

निर्वाचन सम्पन्न भएको करिब डेढ महिनापछि सुदूरपश्चिम प्रदेश सरकार गठनको तयारीमा जुटेको छ । जसअनुसार प्रदेश प्रमुख देवराज जोशीले मुख्यमन्त्रीमा दाबी गर्न आह्वान गरेका छन् ।

प्रदेश प्रमुख जोशीले बुधबार विज्ञप्ति जारी गरी प्रदेशसभा सदस्यलाई एक साता भित्र मुख्यमन्त्रीमा दाबी पेस गर्न आह्वान गरेका हुन् । पुस २७ गते बेलुका ५ बजेसम्म दाबी पेस गर्ने सकिने बताइएको छ ।

उनले कुनै पनि दलको स्पष्ट बहुमत नदेखिएकाले नेपालको संविधानको धारा १६८ को उपधारा २ बमोजिम दाबी पेस गर्न आह्वान गरेका हुन् ।

५३ सदस्यीय सुदूरपश्चिम प्रदेश सभामा सरकार गठन गर्न २७ सांसद आवश्यक पर्छ ।

माओवादीले खगराज भट्टलाई दलको नेता चयन गर्दै मुख्यमन्त्रीमा अघि सारेको छ । सुदूरपश्चिममा गठबन्धन भित्रको सबैभन्दा ठूलो दल भएकाले मुख्यमन्त्री आफैँले पाउनुपर्ने माओवादीको दाबी छ ।

नागरिक उन्मुक्ति पार्टीले पनि नेतृत्वको दाबी गरको छ । यस पार्टीले रामेश्वर चौधरीलाई दलको नेता चयन गर्दै मुख्यमन्त्रीको दाबी गरेको छ ।

त्यस्तै एकीकृत समाजवादीले दीर्घ सोडारीलाई संसदीय दलको नेता चयन गरेको छ भने एमालले राजेन्द्र रावललाई दलको नेता चयन गरेको छ । तर नेतृत्व कुन दलले गर्ने भन्ने टुंगो लागेको छैन । नेतृत्वका लागि सत्ता गठबन्धन भित्रै दौडधुप छ ।

सुदूरपश्चिममा नागरिक उन्मुक्तिलाई मिलाउन सके सत्ता गठबन्धनबाहेकको पनि सरकार बन्ने अवस्था छ । सो पार्टीले केन्द्रमा समर्थन जनाए पनि सरकारमा नगएको र सुदूरपश्चिममा पनि नेतृत्व दाबी गरेपछि दलहरूलाई सकस भएको छ ।