
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ । प्रचण्ड निवास खुमलटारमा बुधबार ओली पुगेका छन् ।
सरकार गठनको तेस्रो दिन बुधबार प्रधानमन्त्री पुष्पकमल दाहालको निजी निवास खुमलटारमा नेकपा एमालेका अध्यक्ष केपी ओली पुगेका हुन् । गठबन्धनका प्रमुख दुई नेताबीच सत्ताको भागबन्डाका विषयमा कुराकानी भइरहेको बताइएको छ ।
नवनियुक्त चार मन्त्रीको कार्यभार नतोकिएको र थप मन्त्री नियुक्त गर्न बाँकी रहेकाले दाहाल-ओलीबीच छलफल भएको हो । सोमबार आठ सदस्यीय मन्त्रिपरिषद् बने पनि चार मन्त्रीको कार्यभार नतोकिँदा उनीहरुले पदभार ग्रहण गर्न पाएका छैनन् । दुई नेताबीचको छलफलपछि जिम्मेवारी तोकिने बताइएको छ । हिजै (मंगलबार) यही विषयमा छलफल हुने भए पनि ओली गृहजिल्ला झापा गएकाले बुधबार दुई नेताबीच भेट भएको हो ।
त्यसैगरी पुस २५ गते संघीय संसदको आह्वान भइसकेको छ । गठबन्धन दलबीच सभामुख कसलाई बनाउने र उपसभामुख कसलाई दिने भन्ने विषय पनि टुंगो लगाउन बाँकी छ भने नयाँ मन्त्रीहरुको टुंगो लगाउन बाँकी छ ।
साथै सात प्रदेशमा मुख्यमन्त्री कुन-कुन दललाई दिने भन्ने विषयमा पनि दाहाल-ओलीबीच छलफल हुने बताइएको छ ।
यसैबीच प्रधानमन्त्री दाहालले ओलीसँग भेट्नुअघि बुधबार नै जसपा नेता उपेन्द्र यादव र एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालसँग पनि भेटवार्ता गरेका छन् ।
सरकारलाई समर्थन गरेको जनता समाजवादी पार्टी (जसपा) ले सरकारमा पठाउने मन्त्रीहरुको नाम टुंगो लगाएको छैन । जसपाले बुधबार नै संसदीय दलको नेता छान्ने र सरकारमा पठाउने मन्त्रीहरुको नाम टुंगो लगाउने तयारी गरेको छ ।
राप्रपाले पनि मन्त्री पठाउने/नपठाउनेबारे निर्णय लिन केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाएको छ । राप्रपा र नागरिक उन्मुक्ति पार्टीले आफ्नो सर्तहरु पूरा नभए सरकारमा नजाने अडान राख्दै आएका छन् । राष्ट्रिय स्वतन्त्र पार्टीले भने उपसभामुखसमेत आफूले पाउनुपर्ने माग अगाडि सारेको छ ।


