५ जेष्ठ २०८१, शनिबार

बूढानीलकण्ठमा भव्य घर हुदाँ हुदै भाडाको घरमा सर्दै देउवा

pm sherbahadur deuba

बूढानीलकण्ठमा निवर्तमान प्रधानमन्त्री शेरबहादुर देउवाको भव्य घर छ । तर, बालुवाटार छाड्न लागेका देउवा चार महिनासम्म भाडाको घरमा सर्ने भएका छन् ।

निवर्तमान प्रधानमन्त्री देउवा सकेसम्म आजै बेलुका चप्पल कारखाना छेउमा सर्न लागेको स्रोतले बतायो । ज्योतिषको सल्लाहअनुसार चल्ने गरेका देउवा परिवारले घर सर्ने निर्णय लिँदा साइत जुराउने गरेको छ ।

देउवाको सचिवालय स्रोतका अनुसार महाराजगञ्ज, चप्पल कारखाना नजिकै एउटा घर भाडामा लिइएको छ । अब देउवा चार महिनासम्म सोही घरमा बस्नेछन् । त्यसपछि बल्ल बूढानीलकण्ठ सर्नेछन् ।

बूढानीलकण्ठको निजी निवासको मर्मत सम्भार भइरहेको र काम सकिन अझै चार महिना लाग्ने भएकाले देउवा डेरामा बस्न लागेका हुन् । देउवाले आजै बालुवाटार छाड्न लागेका छन् ।

यसैबीच प्रधानमन्त्री पुष्पकमल दाहालको सचिवालयले आजै सरकारी निवास बालुवाटार सर्ने बताएको छ । दाहालका स्वकीय सचिव रमेश मल्लले कान्तिपुरसँग भने, ‘हामी आजै बेलुका बालुवाटार सर्दैछौंँ।’