१६ बैशाख २०८१, आईतवार

गण्डकी प्रदेशको सत्ता राजनीतिमा पनि बदलाव: खगराज अधिकारी मुख्यमन्त्री बन्ने लगभग निश्चित

khagraj
फाइल फोटो

केन्द्रीय समीकरण फेरिएसँगै गण्डकी प्रदेशको सत्ता राजनीतिमा पनि बदलाव आएको छ । २७ सिट जितेर प्रदेश सरकारको नेतृत्व लिन तम्तयार रहेको नेपाली कांग्रेसलाई एकाएक प्रतिपक्षमा बस्नुपर्ने स्थिति आइलागेको छ ।

तत्कालीन नेकपा विभाजनपछि सरकारको नेतृत्वबाट बाहिरिएको नेकपा (एमाले) डेढ वर्षपछि पुनः सत्तामा फर्किँदै छ । र, मुख्यमन्त्री बन्नै प्रदेश पुगेका एमालेका खगराज अधिकारि अब मुख्यमन्त्री बन्ने निश्चित भएको छ ।

६० सदस्यीय प्रदेश सभामा यो पटक ५ दलको प्रतिनिधित्व छ । जसमा नेपाली कांग्रेस २७ सिटसहित पहिलो, नेकपा एमाले २२ सिटसहित दोस्रो, माओवादी केन्द्र ८ सिट सहित तेस्रो शक्ति हुन् । नयाँ सत्ता समीकरण अनुसार अब गण्डकीमा एमाले, माओवादी र राप्रपाको सरकार बन्नेछ ।

समानुपातिकमा २ सिट पाएको राष्ट्रिय प्रजातन्त्र पार्टीसहितको समर्थनमा अब गण्डकीमा सरकार बन्नेछ । हालको गठबन्धन मिल्दा कुला सांसद संख्या ३२ हुन्छ । यो सरकार गठन गर्न पुग्ने स्पष्ट संख्या हो । गठबन्धनबाट १ जना सभामुख चयन हुँदा पनि बाँकी ३१ जना सांसद पुग्छन् । शक्ति बाँडफाँटमा कुनै परिवर्तन नभए एमालेले गण्डकी प्रदेशको नेतृत्व गर्नेछ ।

गण्डकीको सत्ता राजनीतिले नयाँ मोड लिएसँगै प्रदेश सरकारको तेस्रो मुख्यमन्त्री को बन्ला भन्ने चासो बढेको छ । नयाँ गठबन्धनका मुख्य दुई घटक एमाले र माओवादी केन्द्र दुवैले सरकारको नेतृत्वमा दाबी गरिरहेका छन् । यद्यपि केन्द्रमा हुने सहमतिअनुसार नै प्रदेशको शक्ति बाँडफाँट हुने नेताहरूले बताएका छन् । यद्यपि, खगराज अधिकारीलाई मुख्यमन्त्रीका रूपमा उभ्याउन थालिसकिएको छ ।

एमालेले मुख्यमन्त्री बनाउनैका लागि अधिकारीलाई प्रदेशमा पठाएको थियो । माओवादीले समेत मुख्यमन्त्रीमा दावी गरेपनि अन्ततःसोत्व: खगराज नै हुने प्रवल सम्भावना राजनीतिक पण्डित पनि देख्छन् ।

कुनै पनि दलले बहुमत प्राप्त नगरेको स्थितिमा संविधानको धारा १६८ को उपधारा २ अनुसार सरकार गठन हुनेछ । उक्त संवैधानिक व्यवस्थाअनुसार दुई वा दुईभन्दा बढी दलको समर्थनमा बहुमत प्राप्त गर्नसक्ने प्रदेशसभाको सदस्यलाई प्रदेश प्रमुखले मुख्यमन्त्रीमा नियुक्त गर्नुपर्ने छ ।