१३ बैशाख २०८१, बिहीबार

महामन्त्री विश्वप्रकाशको टिप्पणी : हामी एम्बाप्पे भयौँ, धेरै गोल गरेर पनि कप अर्कैले लग्यो

bishow prakash
फाइल फोटो

नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले सरकारको नेतृत्व कांग्रेसको हातबाट फुत्किनुलाई जितेर पनि हारेको टिप्पणी गरेका छन् ।

पोखरामा जारी नेपाल लिटरेचर फेस्टिभल २०२२ मा सोमबार ‘राजनीतिमा समाजको ऐना’ बहसमा शर्माले जितेर पनि कांग्रेस पराजित भएको बताएका हुन् ।

बहसका मोडरेटर बसन्त बस्नेतले जितेर आएको कि हारेर आएको भन्ने प्रश्नमा महामन्त्री शर्माले भने, ‘जितेर हारेर आएको अहिले चाहिँ ।’

चुनावमा सबैभन्दा धेरै सिट जितेर पहिलो दल बनेको नेपाली कांग्रेस सत्ताबाट बाहिरिनु परेको अवस्थालाई उनले हालै सम्पन्न विश्वकप फुटबल र ट्रफीसँग तुलना गरे ।

‘यसलाई कसरी बुझौँ भने जस्तो अस्ति वल्र्डकप भएको थियो नि !’ उनले भने, ‘सबैभन्दा बढी गोल चाहिँ एम्बाप्पेले हाल्यो, गएको मंसिर ४ गतेको निर्वाचनमा सबैभन्दा बढी सिट नेपाली कांग्रेसले जित्यो । भयो के भनेदेखि एम्बाप्पेले सबैभन्दा बढी गोल पनि हाल्यो, गोल्डेन बुट पनि जित्यो । तर कप चाहिँ अर्कैले लग्यो ।’

उनले थपे, ‘त्यस कारण हामी चाहिँ एम्बाप्पे भएर आएको !’

महामन्त्री शर्माले अबको पाँच वर्षपछि अहिलेको च्याम्पियनलाई डिफेन्डिङ च्याम्पियन बनाउने दाबी गरे । उनले भने, ‘पाँच वर्षपछि अहिलेको डिफेन्डिङ च्याम्पियन बनाउँछौँ । हामी त्यसबेला च्याम्पियन बन्छौँ । हामी विजयी बन्छौँ ।’