नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले सहकारी ठगीमा केही मान्छे जेल जाँदैमा कसैले पनि रुवाबासी गर्न जरुरी नरहेको बताएका छन् ।
बुधबार ट्विटरमा आफ्नो धारणा सार्वजनिक गर्दै महामन्त्री शर्माले भनेका छन् ‘काँग्रेसका दुइचार, एमालेका दुइचार, माओवादी, राप्रपा र रास्वपाका दुइचार मान्छे सहकारी ठगीमा जेल पर्नेभए भनेर रुवावासी नगरौं । अनुसन्धानलाई सघाऔं, अदालतको फैसला कुरौं । सडक विलापको जगहँसाई नगरौं’ ।
उनले रास्वपाका सभापति रवि लामिछाने सहकारी काण्डमा मुछिएर पक्राउ परेपछि रास्वपाले गरेको विरोधप्रति असहमति जनाएका छन् । उनले भनेका छन् ‘स्पष्ट हौं दोषीलाई कार्वाही र बचतकर्ताको रकम फिर्ता, आजको रास्ट्रीय आवश्यकता हो’ ।
आफ्नै दलका सांसद संलग्न भएर तयार पारेको प्रतिवेदनपछि रवि लामिछाने पक्राउ पर्दा राजनैतिक प्रतिशोध भन्नू संसदीय समिति र संसदकै अपमान भएको उनको भनाइ छ । ‘रास्वपाकै प्रतिनिधिले पनि हस्ताक्षर गरेको प्रतिवेदन भन्छ-प्रचलित कानुन बमोजिम कार्वाही गर्नु । तर प्रक्रिया शुरुभएपछि राजनैतिक प्रतिशोध भन्नू संसदीय समिति र संसदकै अपमान होइन र ?’ उनले भनेका छन् ।
प्रदर्शनले न्यायालय प्रभावित गर्ने प्रयास गरेको शर्माको जिकिर छ ।‘भ्रमको प्रयास वैकल्पिक राजनीति ? कि विधि उपर समेतको ठगी’ उनले भनेका छन् । गत शुक्रबार रास्वपा सभापति रवि लामिछाने पक्राउ परेपछि रास्वपाले राजनीतिक प्रतिशोध भन्दै शनिबारदेखि पोखरामा विरोध प्रदर्शन गर्दै आएको छ ।
उनले भनेका छन्-
काँग्रेसका दुइचार, एमालेका दुइचार, माओवादी, राप्रपा र रास्वपाका दुइचार मान्छे सहकारी ठगीमा जेल पर्नेभए भनेर रुवावासी नगरौं । अनुसन्धानलाई सघाऔं, अदालतको फैसला कुरौं । सडक विलापको जगहँसाई नगरौं । स्पष्ट हौं, दोषीलाई कार्वाही र बचतकर्ताको रकम फिर्ता, आजको रास्ट्रीय आवश्यकता हो ! रास्वपाकै प्रतिनिधिले पनि हस्ताक्षर गरेको प्रतिवेदन भन्छ-प्रचलित कानुन बमोजिम कार्वाही गर्नु´। तर प्रक्रिया शुरुभएपछि-
राजनैतिक प्रतिशोध´ भन्नू संसदीय समिति र संसदकै अपमान होइन र ?प्रदर्शनले न्यायालय प्रभावित गर्ने भ्रम-प्रयास वैकल्पिक राजनीति ? कि विधि उपर समेतको ठगी ?`अन्धभक्तहरुले न पार्टी सुधार्न सक्छन् न देश बनाउन´ एक मित्रको अभिव्यक्ति सम्झन्छु । निस्चयनै `लोभ र डर´ले जब कसैको ईमानदार विवेक ध्वस्त बनाउँछ, तब उसले उत्तेजना भर्न र भ्रम छर्न मात्र सक्छ । मेसिनबाट मान्छेमा फर्किन्दासम्म समाजले उसलाई चिनिसकेको र समयले छोडिसकेको हुन्छ !