६ जेष्ठ २०८१, आईतवार

सुदूरपश्चिममा १५ पुसमा सपथ, १८ गते पहिलो बैठक बोलाउने तयारी

sudur pradsh shabha

सुदूरपश्चिममा निर्वाचित प्रदेश सभा सदस्यलाई १५ पुसमा सपथ खुवाइने भएको छ । यसअघि ११ पुसभित्रै सपथ खुवाउने तयारी गरिएकोमा प्रदेश सभा सदस्यको व्यवस्तताका कारण १५ गते सारिएको प्रदेश सभा सचिवालयका सचिव देवबहादुर बोगटीले बताए ।

‘केही नवनिर्वाचित प्रदेश सभा सदस्य काठमाण्डौंमै रहेको र धनगढी फर्कन सयम लाग्ने खबर आयो,’ प्रदेश सभा सचिवालयका सचिव बोगटीले भने, ‘उहाँहरू ११ गते उपस्थित हुन नसक्ने जानकारी आएपछि १५ गते सारिएको हो ।’ उनका अनुसार १८ पुसमा प्रदेश सभाको पहिलो बैठक बोलाउने तयारी थालिएको छ ।

‘संवैधानिक व्यवस्थाअनुसार २१ पुसभित्र पहिलो बैठक बोलाइसक्नुपर्ने भएपछि प्रदेश प्रमुखज्यूले त्यस अघिनै बैठक बोलाउने भन्नु भएको छ,’ सचिव बोगटीले भने, ‘प्रदेश प्रमुखज्यूकै सल्लाहअनुसार १८ गते पहिलो बैठक बोलाउने तयारी भएको छ, कुनै समस्या नभए त्यही दिन बैठक बस्न सक्छ ।’

प्रदेश सभमा निर्वाचित सदस्यमध्ये अछाम २ (ख) बाट निर्वाचित ज्येष्ठ सदस्य ६८ वर्षीय मानबहादुर रावललाई प्रदेश प्रमुखले सपथ खुवाउने छन् । साउद प्रदेश सभामा सबैभन्दा जेष्ठ सदस्य हुन् । उनको उम्मेर ६८ वर्ष छ ।

प्रदेश प्रमुखले सपथ गराएपछि साउदले प्रदेश सभाका बाँकी ५२ प्रदेश सभा सदस्यलाई सपथ गराउने छन् । निर्वाचन आयोगले निर्वाचनको अन्तिम सूची प्रदेश प्रमुखसमक्ष बुझाएको २० दिनभित्र निर्वाचित सदस्यको सपथ र प्रदेशसभा बैठक आह्वान गर्नुपर्ने प्रावधान छ । २ पुसमा आयोगले प्रदेशसभामा प्रत्यक्ष निर्वाचन प्रणाली र समानुपातिक निर्वाचन प्रणालीबाट निर्वाचित सदस्यको सूची प्रदेश प्रमुखलाई बुझाएको थियो ।

आयोगले बुझाएको सूची प्राप्त भएको २० दिनभित्र प्रदेशसभा सदस्यको सपथ र प्रदेशसभा बैठक आह्वान गरिसक्नु पर्ने प्रावधान रहेको प्रदेश प्रमुखको कार्यालयका निमित्त सचिव शैलेशराज ढुंगानाले बताए ।

संविधानको धारा १७९ बमोजिम प्रदेशसभामा निर्वाचित हुने सदस्यले प्रदेश प्रमुख समक्ष सपथ लग्नुपर्ने प्रावधान रहेको छ । प्रदेश प्रमुखसमक्ष सपथ लग्दा प्रदेश प्रमुखले सबैभन्दा जेष्ठ सदस्यलाई सपथ खुवाउने र ती जेष्ठ सदस्यले बाँकी प्रदेशसभा सदस्यलाई सपथ खुवाउनु पर्ने प्रावधान छ ।

प्रदेश प्रमुखको कार्यालयका निमित्त सचिव ढुंगानाका अनुसार जेष्ठ सदस्यको पहिचान प्रदेशसभा सचिवालयले गर्नुपर्ने हुन्छ । सुदूरपश्चिम प्रदेशसभा सचिवालयका अनुसार प्रदेशसभामा निर्वाचित प्रदेशसभा सदस्यमध्ये जेष्ठ सदस्यको पहिचान भइसकेकाले १४ पुसभित्रै सपथका लागि तयारी थालिएको बताए ।

‘निर्वाचन आयोगले बुझाएको सूचीअनुसार अछाम–२ ‘ख’ बाट निर्वाचित प्रदेशसभा सदस्य मानबहादुर रावलज्यू सबैभन्दा जेष्ठ सदस्य छन्,’ सूचना अधिकारी जैशीले भने, ‘त्यसैले उहाँलाई नै प्रदेश प्रमुखज्यू समक्ष पहिलो सपथका लागि आह्वान गर्ने र प्रदेशसभाको पहिलो बैठकको अध्यक्षताका लागि आह्वान गर्ने तयारी गरिएको छ ।’ प्रदेशसभा सचिवालय र प्रदेश प्रमुखको कार्यालयको समन्वयमा प्रदेशसभा बैठक बोलाएर पनि निर्वाचित प्रदेशसभा सदस्यको सपथ गराउन सकिनेछ भने सपथपछि प्रदेश सभा बैठक पनि बस्न सक्ने छ ।

प्रदेश सभामा निर्वाचित सदस्यमध्ये रावलपछि बैतडी ‘ख’ बाट निर्वाचित शिवराज भट्टको उमेर सबैभन्दा बढी छ । उनको उम्मेर ६५ बर्ष रहेको छ । संवैधानिक व्यवस्थाअनुसार प्रदेशसभाको पहिलो बैठक २२ पुसभित्रै बसिसक्नुपर्नेछ । त्यसका लागि पहिलो बैठक र दोश्रो बैठक जेष्ठ सदस्यले सञ्चालन गर्न सक्ने छन् । निर्वाचित प्रदेशसभा सदस्यको दोश्रो प्रदेशसभा बैठकले सभामुख र उपसभामुख चयनको प्रक्रिया अघि बढाउने छ ।

प्रदेश सभाको दोस्रो कार्यकालका लागि बैठक सञ्चालन गर्न प्रदेशसभा भवनको बैठक कक्ष तयार पारिएको छ । भवनको बैठक कक्षमा राखिएका कुर्सी, टेबुल, माइक पुनः जडान गरिएको प्रदेशसभा सचिवालयका सूचना अधिकारी युवराज जैशीले बताए । प्रदेश सभामा हरेक सदस्यका लागि यस पटक छुट्टाछुट्टै टेबुलको व्यवस्था गरिएको छ ।

प्रदेश सभाको बैठक सुचारु गर्ने अन्तिम तयारी भइरहेका वेला भवनसँगै संसदीय दलको कार्यालयसमेत विस्थापित भएपछि तत्कालका लागि दलहरूलाई प्रदेश सभाका विषयगत समितिहरूका लागि तयार गरिएका कक्ष उपलब्ध गराउने तयारी गरिएको छ । ‘अहिले प्रदेशसभाले समिति गठन गरेको छैन,’ सूचना अधिकारी जैशीले भने, ‘विषयगत समिति गठन नहुँदासम्मलाई ती कार्यालयमा दलको संसदीय कार्यालय राख्ने तयारी गरेका छौं, विषयगत समिति बनेपछि दललाई अन्यत्र व्यवस्थापन गरिने छ ।’ सुदूरपश्चिम प्रदेश सभामा हाल कार्य व्यवस्था परामर्स समिति, विधायन तथा प्रदेश मामिला समिति, सार्वजनिक लेखा समिति, अर्थ विकास तथा प्राकृतिक श्रोत समिति र सामाजिक विकास समिति छन् ।

    सम्बन्धित समाचार...