५ जेष्ठ २०८१, शनिबार

चेपे-ए हाइड्रोमा भएकाे तोडफोडबाट ३३ करोडको क्षति

chepe khola

लमजुङ र गोरखाको सीमा क्षेत्र चेपे खोलामा निर्माणाधीन ७ मेगावाटको चेपे-ए जलविद्युत आयोजनामा भएको तोडफोडबाट ३३ करोड बढी क्षति भएको आयोजनाले दावी गरेको छ । गत शनिबार आयोजनाको संरचनामा भएको तोडफोड र आगजनीबाट भौतिकसहित ३३ करोडको क्षति भएको आयोजनाले दावी गरेको हो ।

लमजुङको बृहत सिँचाइ आयोजना राइनासटार सिँचाइ आयोजनाको मुहान नै प्रभावित पार्ने गरी आयोजना निर्माण गरेको भन्दै प्रभावित स्थानीयले हाइड्रो तोडफोड गरेका हुन् । स्थानीययले गरेको संरचना तोडफोड र आगजनीबाट साढे तीन करोड बरावरको भौतिक क्षति भएको आयोजनाका अध्यक्ष डा. हरिराम पराजुलीले बताए ।

आयोजनाको भौतिक क्षतिसहित अब आयोजना पुन निर्माणका लागि लाग्ने अनुमानित खर्च र समय हिसाव गर्दा कम्तीमा ३३ करोड खर्च हुने अध्यक्ष पराजुलीको भनाइ छ । आक्रोशित स्थानीयले आयोजनाको दुई वटा ट्रक, दुई वटा मोटरसाइकल, दुई वटा जेनेरेटर र स्टोरमा आगलागी गरेका थिए भने आयोजनाको कार्यालय भवनमा तोडफोड गरेका थिए ।

आयोजनामा गरिएको तोडफोड र आक्रोस सार्वजनिक हित भन्दा पनि केही समुहको अभिष्ट पूरा नहुँदा गरीएको षडयन्त्र भएको अध्यक्ष पराजुलीको आरोप छ । आयोजना निर्माण पश्चात राईनासटार सिँचाइमा कुनैपनि प्रभाव नपर्ने गरी काम गर्दै आएको दावी गर्दै अध्यक्ष पराजुलीले बिना संवाद एक्कासी आयोजनाको भौतिक संरचनामा क्षति पुर्‍याउनु कानुनकै बर्खिलाप भएको बताए ।

जिल्लाकै सबैभन्दा ठूलो सिँचाई आयोजना राईनासटार सिँचाई आयोजना प्रभावित हुनेगरी जलविद्युत आयोजना निर्माण गरेको भन्दै त्यसको विरोधमा उत्रिएका हुन् । यसअघि पटक पटक आयोजनाको काम रोक्न दवाव दिएका स्थानीयले काम नरोकिएपछि आक्रोशित हुँदै तोडफोड गरेका थिए ।

२०५२ सालमा सम्पन्न भई सञ्चालनमा आएको राइनासटार सिँचाई योजनाको मुहान मासिने गरी जलविद्युत आयोजनाको विद्युत गृह निर्माण भइरहेको उपभोक्ताको आरोप छ । आयोजनाको विद्युत गृह नहरको मुहानभन्दा करिब २०० मिटर तल हुने गरी निर्माण भइरहेको छ ।

सोही ठाउँमा विद्युत गृह बने राइनास नगरपालिकाको आठसय ५० बढी हेक्टर जग्गामा सिँचाइको सुविधा पुगेको राइनासटार सिँचाइ योजनाको मुहान मासिने निश्चित देखिएपछि उपभोक्ता आक्रोशित भएका हुन् । प्रवर्द्धक कम्पनी चम्पावती हाइड्रो पावर कम्पनीले निर्माण गरिरहेको उक्त आयोजनाको ६० प्रतिशत काम पूरा भइसकेको आयोजना पक्षले जनाएको छ ।

सन् २०२२ सम्म निर्माण सम्पन्न गर्ने लक्ष्य सहित आयोजनाको काम सुरु भएको थियो । स्थानीयको विरोधपछि आयोजना निर्माण कार्य समयावधी लम्बिने निश्चित भएको छ ।

    सम्बन्धित समाचार...