१६ बैशाख २०८१, आईतवार

सतर्क बनौँ । तपाईंका महत्वपूर्ण कागजातको दुरुपयोग त भइरहेको छैन ?

passport citizenship

नागरिकता, राहदानीदेखि बैंक खाता र मोबाइलको सिमकार्ड र पासवर्ड जस्ता निजी कागजातको सुरक्षामा तपाईं कत्तिको सचेत हुनुहुन्छ ? ख्याल गरौं, आफ्नो व्यक्तिगत कागजात र पासवर्ड अर्कैको हातमा पर्‍यो भने नसोचेको स्थानमा दुरुपयोग हुनसक्छ । अर्थात् आफूले थाहै नपाइ अपराधको आरोप लाग्न सक्छ ।

आफ्नै खाताको साढे ६ लाख रुपैयाँ गायब भएपछि एक युवा गत साता उपत्यका अपराध अनुसन्धान कार्यालयमा उजुरी गर्न पुगे। मोबाइलमा बैंकिङ सुविधा भए पनि पैसा गायब भएको किन पत्तो भएन ? मुख्य प्रश्न यही थियो । अर्थात् अपराधको शैलीले प्रहरीलाई चकित बनायो ।

एक महिना अघि फेसबुकमा क्यानडा पठाउने विज्ञापन देखिएको थियो । सम्पर्कका लागि राखिएको ह्वाट्सएप नम्बरमा मागेअनुसार ती युवाले नागरिकता, राहदानी र फोटो पठाए । त्यही विवरणबाट उसले नेपाल टेलिकम पुगेर हराएको भन्दै पीडितकै नामबाट अर्को सिम निकालेछ । मोबाइल नम्बरकै आधारमा बैंक विवरण लिएर खातामा भएको साढे ६ लाख झिकेछ । म्यासेज नआउनुको कारण त्यही थियो । यो एउटा घटना मात्रै हो । ठगी गर्ने गिरोहका एउटै व्यक्तिले २५ वटासम्म बैंक खाता खालेको घटना पनि प्रहरीले फेला पारेको छ ।

विश्वकप फुटबलमा सट्टेबाजी लगाउँदा एउटै व्यक्तिले ९४ वटा सिम कार्ड निकालेको भेटिनुले पनि मोबाइल सिमको दुरुपयोग कहाँ र कसरी भइरहेको छ भन्ने प्रष्ट पार्छ । प्रहरीको अनुसन्धानले गुगल तथा अन्य माध्यमबाट अरूको नागरिकता दुरुपयोग भएको देखाएको छ । तर बिक्रेताले जथाभाबी सिमकार्ड दिँदा दुरुपयोग झन् बढ्दो छ । हराएर नखोजेको वा नभेटिएको एक लाख ७० हजार नेपाली राहदानी इन्टरपोलमा राखिएको छ । हराएका धेरै नागरिकता पनि अपराधमा उपयोग भइरहेको प्रहरीको आशंका छ ।

प्रविधिले जति सजिलो पार्छ त्यति जोखिम छ। त्यसैले आफ्ना अनिवार्य र महत्त्वपूर्ण कागजातको दुरुपयोग त भइरहेको त छैन ? सतर्क बनौँ ।

    सम्बन्धित समाचार...