५ जेष्ठ २०८१, शनिबार

पशुपति शमशेर राणाले प्रतिनिधिसभा सदस्यहरूलाई शपथ खुवाउने

pasupati samser jabara

राष्ट्रिय प्रजातन्त्र पार्टीका नेता पशुपति शमशेर राणाले प्रतिनिधिसभा सदस्यमा निर्वाचित सांसदहरूलाई शपथ गराउने भएका छन्।

प्रतिनिधिसभाको प्रथम बैठकअघि ज्येष्ठ नागरिकले शपथ ग्रहण गराउने प्रावधानअनुसार राणाले प्रतिनिधिसभाका निर्वाचित सांसदहरूलाई शपथ गराउन लागेका हुन् । 

त्यसका लागि संघीय संसद सचिवालयले निर्वाचित सांसदहरूमध्ये ज्येष्ठ नागरिकको हैसियतमा राणाको शपथका लागि राष्ट्रपति कार्यालयमा पत्र पठाएको सहायक प्रवक्ता दशरथ धमलाले जानकारी दिए । ‘संसद सचिवालयले राणाकाे शपथका लागि राष्ट्रपति कार्यालयमा पत्राचार गरिसकेकाे छ,’ धमलाले भने, ‘राष्ट्रपति कार्यालयबाट भाेलि १ बजे राणाकाे शपथ हुने अनाैपचारिक जानकारी आएकाे छ ।’

संसद सचिवालयको पत्रअनुसार राष्ट्रपति विद्यादेवी भण्डारीबाट शपथ ग्रहण गरेपछि राणाले अन्य निर्वाचित सांसदलाई शपथ ग्रहण गराउनेछन् ।

राप्रपाकोे समानुपातिक तर्फको खस आर्य समूहबाट सांसद बन्न लागेका ८१ वर्षे राणाले जेष्ठ सदस्यका रुपमा पहिलो बैठकको अध्यक्षता गर्ने र अरु सदस्यहरुलाई शपथ खुवाउने भएका छन्।

राणाले राष्ट्रपतिबाट सांसदको शपथ लिएपछि पहिलो बैठकमा अरु सदस्यलाई शपथ खुवाउने छन्। राणा अन्तिम राणा प्रधानमन्त्री मोहन शमशेरका नाति हुन्। उनको जन्म विसं १९९८ वैशाख २५ गते काठमाडौँको महाराजगञ्ज भएको हो।

संसदको दोस्रो जेष्ठ सदस्यका रुपमा बाग्लुङ २ बाट निर्वाचित जनमोर्चाका चित्रबहादुर केसी हुन्। आयोगको रेकर्डअनुसार उनी ८० वर्षका भए।

त्यस्तै केसीभन्दा केही महिनाले मात्रै कान्छा महन्थ ठाकुर हुन्। उनी लोसपाबाट महोत्तरी ३ बाट निर्वाचित भएका छन्। उनको पनि उमेर ८० वर्ष रहेकोे आयोगको रेकर्डले देखाउँछ। ठाकुरले २०७४ सालमा जेष्ठ सदस्यका रुपमा सभामुख चयन नभइञ्जेल बैठक चलाएका थिए।

नागरिकतामा त्रुटिवश ८५ वर्ष उमेर कायम भएका महिन्द्रराय यादव हुन्। सर्लाही २ बाट निर्वाचित यादवको औपचारिक उमेर ८५ वर्ष भए पनि उनी त्यो वास्तविक नभएको बताउँछन्। २०७४ सालमा नागरिकता अनुसार जेष्ठ सदस्य भए पनि उनले पहिलो बैठकमा आफू अनुपस्थित भएर महन्थ ठाकुरलाई अध्यक्षता गर्ने अवसर दिएका थिए।

संसदमा तनहुँ २ बाट निर्वाचित रामचन्द्र पौडेल ७८ वर्षका छन्। कांग्रेस सभापतिसमेत रहेका प्रधानमन्त्री देउवा ७७ वर्षका भए। मंसिर ४ को चुनावमा उनले सातौँपटक डडेलधुराबाट जितेका छन्।

    सम्बन्धित समाचार...