२३ बैशाख २०८१, आईतवार

पुस ७ मा नवनिर्वाचित सांसदहरुको शपथ

nepal parliament building

नवनिर्वाचित प्रतिनिधिसभाका सांसदहरुको शपथ पुस ७ गते हुने भएको छ । गत मंसिर ४ मा प्रतिनिधि तथा प्रदेशसभाको निर्वाचन भएको थियो ।

प्रतिनिधिसभामा प्रत्यक्ष रुपमा जित हासिल गरेका र समानुपातिक छनोटमा परेका सांसदहरुको शपथग्रहणको कार्यक्रम पुस ७ गते दिउँसो १ बजेका लागि तय गरिएको संसद् सचिवालयले जनाएको छ ।

संसद् सचिवालयका प्रवक्ता रोजनाथ पाण्डेका अनुसार संसद् बैठक सञ्चालन ज्येष्ठ सदस्यले गर्नेछन् । ज्येष्ठ सदस्यका बारेमा तय नभए पनि छलफल भने भइरहेको उनले बताए ।

नवनिर्वाचितमध्ये ज्येष्ठ सदस्यलाई राष्ट्रपतिबाट शपथ दिलाएपछि अरु सदस्यलाई पद तथा गोपनीयताको शपथ दिलाइनेछ । ज्येष्ठ सदस्य पहिचानका लागि सचिवालयले यसअघि नै विवरण खुलाइ पठाइदिन निर्वाचन आयोगलाई पत्रचार गरिसकेको छ ।

राष्ट्रपति विद्यादेवी भण्डारीले यही पुस १० गतेभित्र प्रधानमन्त्रीका लागि दाबी पेस गर्न सात दिनको समय दिएर आह्वान गरिसकेकी छन् । हाल नवनिर्वाचित सदस्यमध्ये चित्रबहादुर केसी, महन्थ ठाकुर, महेन्द्रप्रसाद यादव र पशुपतिशमशेर जबराको उमेर यकिन गर्नुपर्ने देखिएको छ ।

कुनै सदस्यले मातृभाषामा शपथ लिन चाहेमा शपथको तीन दिनअघि शपथ पत्रमा उल्लेख हुने विवरण तत्-तत् भाषामा उल्था गरी त्यससम्बन्धी जानकारी संसद् सचिवालयलाई दिनुपर्नेछ । सचिवालय प्राप्त तथ्यांकअनुसार, प्रतिनिधिसभा सदस्य २०७४ को निर्वाचनपछि करिब ४६ सदस्यले नेपालीबाहेकका ११ मातृभाषामा शपथ लिएका थिए । उनीहरुले मैथिली, थारु, भोजपुरी, मगर, हिन्दी, अवधि, नेपालभाषा, बञ्जिका, नेवारी, उर्दू, तामाङ भाषामा शपथ लिएका थिए ।

सचिवालयले शपथसँगै नवनिर्वाचित सदस्यलाई संघीय संसद्को प्रतीक चिह्न (लोगो) प्रदान गर्नेछ । सुन, चाँदी र तामा जडित प्रतिलोगो करिब पाँच हजार आठ सय रुपैयाँमा तयार भएको हो । संसद् सचिवालयका प्रवक्ता पाण्डेका अनुसार शपथग्रहण समारोहमा नवनिर्वाचित सांसदहरुलाई नेपाली उत्पादन अल्लोको झोलासहित नेपालको संविधान, डायरी, कलम, संसद्सम्बन्धी नियमावली, निर्देशिका, अन्य प्रकाशन उपलब्ध गराइनेछ ।

SapathGrahan 1671440922