८ बैशाख २०८१, शनिबार

रुकुम घटना अध्ययन गर्न संसदीय समिति गठन हुने

Agni sapkota

संचौरजहारी घटनाको अध्ययन गर्न संसदीय विशेष समिति गठन हुने भएको छ।

संसदको शुक्रबार बसेको बैठकमा सभामुख अग्निप्रसाद सापकोटाले संसदीय विशेष समिति गठनको घोषणा गरेका हुन् । दलहरूसँग परामर्श गरेर समितिमा रहने सदस्यहरू तय गरिने सभामुख सापकोटाले बताएका छन् ।

प्रतिनिधि सभाको बैठकमा सभामुखले उक्त घटनाको विषयमा अध्ययन र अनुगमन गरी सभामा प्रतिवेदन पेश गर्न विशेष समिति गठन गर्ने जानकारी गराएका हुन्। त्यसअघि प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले संसद बैठकमा विशेष समिति गठनको माग गर्दै उभिएर विरोध गरेको थियो।

गत जेठ १० गते पश्चिम रुकुमको चौरजहारी नगरपालिकाको सोती गाउँकी आफ्नी प्रेमिकालाई लिन भनेर जाजरकोटबाट गएका नवराज विकसहित ६ जनाको ‘हत्या’ भएको थियो ।

कांग्रेसले लगातार संसदीय छानबिन समितिको माग गर्दै आएको थियो। नेपाली कांग्रेसकी सांसद पुष्पा भुसालले आजको बैठकमा पनि सरकारले घटनाको छानबिन गरिरहेको भए पनि ढाकछोपको आशंका व्यक्त गरेकी थिइन्।

दलितलाई विभेद गर्ने गरी जुन घटना भएको छ। त्यसको राजनीतिक ढाकछोप स्वीकार्य छैनु, भुसालले भनिन्, कुनै पनि राजनीतिक खोलको आधारमा मुक्ति दिनु हुँदैन।

‘गृहमन्त्रीले जानकारी दिँदै गर्दा गृहमन्त्रीको अभिव्यक्ति शंकास्पद भयो, नवराज विक लगायतले खोलामा हाम्फालेको भन्नुभयो,’ भुसालले भनिन्, ‘यो घटना मृत्यु भएको होइन, सामूहिक नरसंहार भएको छ । हत्या गरिएको पोस्टमार्टमको रिपोर्टले हत्या भएको देखाएको छ । गृहमन्त्रीको बयानलाई पोस्टमार्टम रिपोर्टले खण्डन गरेको छ ।’

सांसद भुसालले घटनालाई राजनीतिकरण गर्नको लागि गृहमन्त्रीबाट हल्का बनाउने किसिमले अभिव्यक्ति आएपछि आफूहरू सशंकित भएको बताइन् । ‘रुकुमको चौरजहारी घटनालाई निर्मला पन्तको घटना जस्तै बनाउन लागेको आरोप छ । अपराध मात्र नभई मानवता विरुद्धको गम्भीर अपराध भएको छ । यसका लागि संसदीय समिति गठन गर्नुपर्छ,’ उनले भनिन् ।

गाउँलेले कुटपिट गरी भेरी नदीमा फालेको पीडित पक्षको दाबी छ । नवराजसँगै गएका केही युवाले भने नदीमा हाम फालेर ज्यान जोगाएका थिए ।

अन्तरजातीय विवाहको विषयलाई लिएर भएको यो घटनालाई प्रमुख विपक्षी कांग्रेसले नरसंहार भनेको छ र संसदीय छानबिन समिति गठनको माग गर्दै आएका थियो ।

शुक्रबारको बैठक सुरु हुनासाथ सचेतक पुष्पा भुसालले संसदीय समिति गठन नभएसम्म संसद चल्न नदिने बताएकी थिइन् । लगत्तै सभामुख सापकोटाले संसदीय विशेष समिति गठनको घोषणा गरेका हुन् ।