१६ चैत्र २०८०, शुक्रबार

महंगा अनमोलको ब्रान्ड लोभ

anmol kc

नायक अनमोल केसी महंगा छन् । उनलाई चलचित्रमा लिन ५० लाख रुपैयाँ निर्माताले खर्च गर्नुपर्छ भनिन्छ । अनमोल महंगो हुनुको कारण, उनको लोभलाग्दो क्रेज हो । साथै, आफूलाई रिजर्भ राख्ने स्वभावका कारण पनि अनमोल केसी आम मानिसका लागि चासोमा रहन्छन् ।

तर, बक्स अफिसमा धमाका मच्चाउन सक्ने नायकको रुपमा रहेका अनमोललाई भने चलचित्रमा ब्रान्डको लोभले छोएको छ । उनले, काम गरेका चलचित्रको लाइनअप हेर्ने हो भने पनि उनी ब्रान्डकै पछि दौडिएका छन् ।

अनमोलले ‘ए मेरो हजुर ३’पछि नयाँ नाममा काम गरेका छैनन् । हिट भैसकेका चलचित्रको सिरिज वा सिक्वेलमा नै अनमोल पछि लागेको देखिन्छ ।

‘ए मेरो हजुर ३’पछि अनमोलले ‘ए मेरो हजुर ४’मा काम गरे । अनमोलको यो बर्षको फागुण १९ गते रिलिज हुन लागेको चलचित्र ‘छड्के २’ पनि हिट ब्रान्ड हो । यो चलचित्रपछि अनमोल ‘जेरी २’मा काम गर्दैछन् । यो पनि हिट भैसकेको चलचित्रको सिरिज हो ।

वुझिएअनुसार, झरना थापाको ‘भगवत् गीता’मा काम नगरेका अनमोल ‘ए मेरो हजुर ५’मा भने अर्को बर्ष काम गर्दैछन् । यसरीहेर्दा, अनमोलको सूचीमा ब्रान्ड चलचित्र मात्र परेको देखिन्छ । ब्रान्ड चलचित्रमा काम गर्दा बक्स अफिसमा दर्शक तान्न सहज हुन्छ । महंगा र क्रेज भएका नायकलाई ब्रान्डको लोभ यति धेरै किन होला ?